लालबन्दी,कार्तिक २४ – छठ पर्वको मुख्य दिन आज सर्लाही लगाएत देशैभर अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँएकाे छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व भोलि बिहीवार ( बिहान) उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सकिन्छ ।

कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कात्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाइ व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाइ एक छाक फलाहार गरिन्छ ।

यो पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीमा कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधि विधान रहेको ब्रतालुहरू बताउँछन् । उनिहरूका अनुसार षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ ।


कात्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ्य दिएमा चर्म अर्थात छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ । पहिले तराईका जिल्लामा मात्र सीमित याे पर्व अहिले देशभर मनाउन थालिएको छ । २०४६ सालदेखि नै सरकारले यो पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिने गरेकामा विगतका वर्षमा काटिएकामा यस वर्षदेखि फेरि बिदा दिइएको छ ।छठ पर्वका लागि सर्लाही लगाएत देशका नदी, खोला, पोखरी र जलाशयहरु झकिझकाउ बनाइएको छ ।

पर्वकाद अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीले तथा प्रदेश नं २ का मुख्यमन्त्रीले शुभकामना सन्देश दिँदै विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका उदाहरण भएको उल्लेख गरेका छन् ।