रासस

वीरगञ्ज,कार्तिक  – २०,तीन महिनाको अवधिमा जिल्ला अदालत पर्साबाट विभिन्न समयमा सजाय फैसला भई फरार रहेका ४७ अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई प्रहरीको छुट्टाछुट्टै टोलीले पक्राउ गरी अदालतलाई बुझाएको हो । 

प्रहरीले गएको साउनदेखि असोजसम्मको अवधिमा फरार अभियुक्तलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो । सबैभन्दा बढी भदौमा २३ अभियुक्तलाई पक्राउ गरिएको छ । 

यस्तै असोजमा १९ तथा साउनमा पाँच अभियुक्तलाई पक्राउ गरिएको खनालले बताउनुभयो । उनीहरूबाट एक  करोड ५२ लाख ४७ हजार रुपैयाँ जरिवाना असुल  गरिएको छ । 

अन्य फरार अभियुक्तलाई समेत पक्राउ गरिने प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताउनुभयो । गत आर्थिक वर्षमा प्रहरीले ८० फरार अभियुक्तलाई पक्राउ गरेको थियो ।

उनीहरूबाट ७१ लाख ८६ हजार रुपैयाँ जरिवाना असुल  गरिएको प्रहरीले जनाएको छ ।