ईश्वरपुर,कार्तद –१९, सर्लाहीको ईश्वरपुरमा लक्ष्मीपूजा गर्न बालिएको बत्तिबाट एउटा घरमा आगलागी हुँदा ५५ लाख बराबरको क्षति भएको छ ।
बिहिवार राती करिब १ बजे ईश्वरपुर नगरपालिका–७, बयलवास बजारस्थित ब्रहमबाबा चौकमा रहेको श्याम मैनालीको घरमा आगलागी भएको हो ।
आगलागीबाट काठ बनेकाे र टायलले छाएको दुई तले घर पूर्णरुपमा जलेको छ ।
आगलागीबाट उक्त घरमा मिथिलेस महतोले संचालन गरेको मिनाक्षी ट्रेडर्स ट्याक्टरको सोरुममा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

आगलागीबाट सोरुमभित्र रहेको सुपर न्यू होलैन्ड ३६३० मोडेल नम्वरको एउटा ट्याक्टर र सोरुमका अन्य पार्टपूर्जा पूर्णरुपमा जलेको र अर्को एक ट्याक्टरमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय केशरगन्जका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाका अनुसार आगलागीबाट घर र ट्याक्टर सोरुममा गरी करिव ५५ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।
आगलागी स्थानीयवासी, प्रहरी र हरिवन तथा मलङ्गवा नगरपालिकाबाट ल्याईएकाे दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

उता सर्लाहीकै ब्रह्मपुरी गाउँपालिकामा बिहिवार राती विद्युत् सर्ट भई भएको आगलागीबा एक लाख ३५ हजार बराबरको क्षति भएको छ ।
राति साँढे ९ बजे ब्रह्मपुरी गाउँपालिका–३, भेल्हीका विनोद मुखियाको घरमा आगलागी भएकाे प्रहरीले जनाएको छ । आगलागीबाट घरमा आंशिक क्षति पुग्नुकासाथै नगद, अन्नपात, कपडा जलेकाे प्रहरीले जनाएको छ ।