सर्लाही — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी वलीको षड्यन्त्र, निरंकुश शैली, एकाधिकारवादी अहंकारका कारण बादशाहजस्तो रहेको दुई तिहाइको सरकार ढालेकाे बताएका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले राजनीतिक स्थिरताका लागि पार्टी एकीकरण गरेर नेकपा बनाउँदै वामपन्थीहरुलाई समाजवादतर्फ लाने योजना रहेकाे भएपनि केपी वलीको षड्यन्त्रकारण सफल नभएको बताए ।
सर्लाही सदरमुकाम मलंगवामा शनिवार (आज) आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठन र महेन्द्र राय यादव निकट नेपाल लोकतान्त्रिक शिक्षक फेडेरेसनबिच एकता घोषणा कार्यक्रममालाई सम्बाेधन गर्दै दाहालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा वलीले माओवादी जिस्काउँदाको परिणाम भोग्न थालेको बताए ।
उनले परिणामस्वरूप अहिले गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशमा वली निकट सरकार धमाधम ढालेको तथा अबको १५ दिनभित्र प्रदेश नम्बर–१ मा पनि अर्को सरकार बन्ने बताए ।


अध्यक्ष दाहालले मधेसी जनतासँगको प्रेममा वलीसहितका केही तत्वहरुले भिलेनको रोल खेलेर मधेसी जनतासँग अलग्याउन खोजिरहेको आरोप लगाए । उनले मधेसी जनताको अधिकारका लागि संविधान संशोधन प्रस्ताव राखे पनि ओलीसहितका षड्यन्त्रकारीहरुले पास हुन नदिएको आराेप लगाउदै वलीलाई मधेस विरोधीको संज्ञा दिए । उनलेे मधेसका मसिहा भनाउँदा महन्थ ठाकुर र राजेन्द्र महतो वलीका मतियार बनेको आरोप लगाउदै, मधेसी जनताको पक्षमा काम नगर्ने राजेन्द्र र महन्थ मधेसका मसिहा तथा मधेसी नै नरहेको जिकिर गरे । अध्यक्ष दाहालले प्रविधिकरुपमा कुनै त्रुटी नभए प्रधानमन्त्री फर्केपछि नागरिकता सम्बन्धि ऐन पारित हुने बताए ।उनले समाजवादी पार्टी नेपाल (जसपा) सँग पार्टी एकताका लागि आफू तयार रहेको बताउदै पार्टी एकता गरेको खण्डमा जसपाका नेताहरुलाई सम्मानजनक स्थान दिईने बताए ।