चन्द्रनगर, कात्तिक ११ – सर्लाहीबाट मजदुरीका लागि भारत पुगेका तीन मजदुरको शंकास्पद मृत्यु भएको छ । भारतको उत्तरप्रदेशस्थित आलु भण्डारण गरेर राखिने कोल्ड स्टोरमा काम गर्न पुगेका चन्द्रनगर गाउँपालिका–६, कामदका दुई जना र ईश्वरपुर नगरपालिका–३, भक्तिपुरका एक मजदुरको मृत्यु भएको हो । मृत्यु हुनेमा कामदका ३९ वर्षीय जगदिस माझी र २९ वर्षीय नन्दलाल माझी तथा भक्तिपुरका ४० वर्षीय सुमन भुजेल रहेका छन् ।
उनीहरुको मृत्युको कारण खुल्न सकेको छैन् । सँगै गएका तीन जना साथीको मृत्युपछि गाउँ फर्किएर आएका अन्य व्यक्तिहरुले विषाक्त मदिरा सेवनबाट ज्यान गएको होकी भन्ने आशंका गरेका छन् । तर त्यस कुराको आधिकारिक रुपमा पुष्टी हुन सकेको छैन् ।
कामदका मुसहर युवा रितेजराज माझीले गाउँकै ठेकेदारले युवाहरुलाई कामका लागि लगेर अत्यन्तै श्रम शोषण गरेको बताए । ऋण तिर्नका लागि त्यहाँ काम गर्न पुगेकाहरुलाई थोरै पारिश्रमिकमा धेरै समय काममा लगाउने गरिएको आफूहरुलाई सुन्नमा आएकाले यसबारे ठेकेदारलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने उनको माग छ । कामदका वडाध्यक्ष रामचन्द्र कापरले गाउँका दुई जनाको मृत्यु भएपछि घर फर्किएर आएका १५/२० जनामध्ये ५ जना यहाँ आएपछि पनि बेहोस भएर बिरामी परेका जानकारी दिए ।

तिनीहरुमध्ये ४ जनालाई बयलवासमा र एक जनालाई मलंगवामा उपचारका लागि पठाएको वडाध्यक्ष कापरले बताए । मुसहर अगुवा पाचु माझीले यसरी बारम्बार सोझा सिधा दलितमाथि श्रम शोषण गरी ज्यान लिने काम भएकाले यसबारेमा अनुसन्धान हुनुपर्ने र दोषी व्यक्तिलाई कारवाही गर्नुपर्ने बताए ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी माधव प्रसाद बुढाथोकीले कामद् गाउँका दुई जना मृतकको शव भारतबाट यहाँ ल्याएपछि परिवारले मृत्युको कारण पत्ता लगाउनका लागि पोष्टमार्टम गरिदिन आग्रह गरेपछि आफूहरुले जिल्ला अस्पतालमा पोष्टमार्टम गराइदिएको बताए ।कामद्का दुई जनाको मृतकको शव पोष्टमार्टमपछि बिहिवार गाउँमा ल्याएर अन्त्येष्टि गरिएको छ भने भक्तिपुरका मृतकको शव भारतमै पोष्टमार्टम गरेर यसअघि नै अन्त्येष्टि भइसकेको छ ।