काठमाण्डाै,कार्तिक १०-नेपाली काँग्रेस १४ महाधिवेशनको कार्यतालिका पुनः परिवर्तन गरिएको छ ।
काँग्रेस निर्वाचन समितिका सदस्य एगराज पोखरेलका अनुसार बुधबार बसेको काँग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले आगामी मंसिर २७ देखि २९ गते गर्ने गरी महाधिवेशनको मिति सारेको हो । 

उनका अनुसार वडा अधिवेशन हुन नसकेका १३ जिल्लामा कात्तिक २७ गते वडा अधिवेशन हुने छ ।त्यस्तै कात्तिक ३० गते पालिका अधिवेशन  हुने छ । यसअघि नै काँग्रेसले ६४ जिल्लामा महाधिवेशनको प्रक्रिया अगाडि बढाएकाे थियोे ।सर्लाही,
सप्तरी, सिराहा, बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सुर्खेत, डोल्पा, कैलाली, रसुवा र बाँके गरी १३ जिल्लामा अझै वडा अधिवेशन हुन सकेका छैनन् । यीमध्ये रसुवा बारा र रौतहटको  क्रियाशील सदस्यताको सूचीसमेत सार्वजनिक भएको छैन ।

अब मंसिर ३ गते अधिवेशन हुन बाँकी सबै जिल्लामा प्रदेश अधिवेशन हुने छ । मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन र मंसिर १० गते जिल्ला अधिवेशनको मिति तोकिएको पोखरेलले जानकारी दिए । मंसिर १६ र १७ गते सात वटै प्रदेशको अधिवेशन हुने छ । 

मंगलबार पार्टीका शीर्ष नेतासँगको छलफलपछि निर्वाचन समितिले बुधबार नयाँ कार्यतालिका ल्याएको हो । प्रधानमन्त्री देउवाले मंसिरभित्र महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन निर्देशन दिएका थिए । सोही अनुसार निर्वाचन समितिले नयाँ कार्यतालिका सार्वजनिक गरेकाे हाे ।
यसअघि काँग्रेसले तीन पटक महाधिवेशन मिति सारिसकेकाे छ ।