हरिवन,कार्तिक ८- निर्वाचन आयोगले आगामी चैत पहिलो साताभित्रै स्थानीय तहको निर्वाचन गर्न सरकार समक्ष सिफारिस गरिरहेकै बेला नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संघ, प्रदेश र स्थानीय तहको चुनावमा वर्तमान सत्ताधारी गठबन्धन बीच तालमेल हुने बताएका छन् ।अध्यक्ष नेपालले संघ, प्रदेश र स्थानीय तहको चुनावमा यही गठबन्धनबीच नै तालमेल हुने ठाेकुवा गरे ।
मंगलबार बिहान हरिपुर नगरपालिकाका मेयर जमिरुद्धिन मन्सुरका छोराको बिबाहमा सरिक हुन सर्लाही आएका अध्यक्ष नेपालले अपरान्ह घुर्कौली स्थित द्वन्द्वपीडित बालगृहमा आयोजित पत्रकार भेटघाट काक्रममा यस्तो बताएका हुन ।

नेता नेपालले ओली नेतृत्वको नेकपा एमालेसँग पुनः एकता वा चुनावी तालमेल हुन नसक्ने तर्क गरे ।
फरक प्रसंगमा अध्यक्ष नेपालले सर्लाहीको सागरनाथ जंगल क्षेत्र अन्तर्राष्ट्रिय विमानस्थलका लागि उपयुक्त नरहेकाे तर्क गरे।
उनलेे अन्तर्राष्ट्रिय विमानस्थलका लागि निजगढ नै उपयुक्त स्थान भएको दाबी गरे । सोमबार सत्तधारी गठबन्धन जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अन्तर्राष्ट्रिय विमानस्थल निजगढमा नभई सर्लाहीको सागरनाथ जंगल क्षेत्रमा बनाउनुपर्ने बताएको प्रसंग उल्लेख गर्दै पत्रकारले सोधेको प्रश्नमा समाजवादी अध्यक्ष नेपालले अध्ययनको कमी हुनेहरुले त्यस्तो तर्क गरेकाे बताए । अध्यक्ष नेपाले उहाँले अध्ययन गर्नु नभएकाले त्याेस्ताे बाेलेकाे हुनसक्ने तर्क गरे । पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले अन्तराष्ट्रिय विमानस्थल जहिलेपनि राजधानीबाट बढीमा १ घण्टाको दुरीमा हुनुपर्ने अन्यथा नचल्ने बताए ।
अध्यक्ष नेपालले तत्कालिन प्रधानमन्त्री ओलीले दुई पटकसम्म संविधान र संसदको हत्या गर्ने प्रयत्न गरेपनि त्यसलाई आफूहरुले विफल पारेरे मुलुकलाई संकटबाट जोगाएको बताए । उनलेे नेकपा एकीकृत समाजवादीमा पुराना कम्युनिष्ट कार्यकर्तादेखि नयाँ युवासम्म समावेश भएकाले पार्टीप्रति जनलहर चलेको दाबी गरे ।
अध्यक्ष नेपालले सुदुर पश्चिम प्रदेशको प्रदेश सभामा एकीकृत समाजवादी सबैभन्दा ठूलो पार्टी भएको उल्लेख गर्दै प्रदेश दुईको प्रदेश सभामा केपि ओलीको एमाले भन्दा आफ्नाे पार्टी ठूलो भएको बताए । उनलेे प्रदेश १ र बागमती प्रदेशमा पनि एकीकृत समाजवादीकै मुख्यमन्त्री बन्न गइरहेको बताए ।