रामनगर,कार्तिक,३-अर्थमन्त्री जनार्दन शर्माले सरकार बाढीपहिरो र डुबान प्रभावितको व्यवस्थापनमा जुटिसकेको बताएका छन्। उनलेे तत्काल प्रभावितको उद्धारको काम भइरहेको र यथाशीघ्र राहत प्याकेज समेत घोषणा गरिने बताए।बेमौसमी वर्षाले तराई, पहाड सबैतिर भएको जनधनको व्यापक क्षतिप्रति सरकार चिन्तित रहेको अर्थमन्त्री शर्मा बताए ।
नेकपा माओवादी केन्द्रका नेता शिवपुजन रायका पिता अमिरिलाल रायको श्रद्धाञ्जलि सभामा सहभागी हुन बुधवार सर्लाहीको रामनगर गाउँपालिका–५, मा आएका अर्थमन्त्री शर्मा यस्तो बताएका हुन् ।
पूर्वमन्त्री एवम् केन्द्रीय सदस्य रामेश्वर राय यादवको अध्यक्षतामा एवम् माओवादी केन्द्रका तर्फबाट श्रद्धाञ्जलि सभा आयोजना गरिएको माओवादी केन्द्रले जाएकताको छ ।
स्वर्गीय अमिरिलाल साविक गहडिया सिसौट, गडहियाडुमरिया गाविसमा चारपटक गाविस अध्यक्ष भएका थिए ।
श्रद्धाञ्जलि सभामा सहभागी हुनुअघि मन्त्री शर्माले बरहथवा नगरपालिका–११ स्थित निकै पुरानो हीरापुर ब्यारेजको निरीक्षण समेत गरे। विक्रम संवत् २०२२ सालमा राजा महेन्द्रको पालामा निर्माण भएको उक्त ब्यारेज संरक्षण अभावमा जीर्ण बनेको छ।
जिल्लाको पश्चिमी क्षेत्रको मध्य भागमा रहेको ब्यारेजको पुल जीर्ण रहेकाले सर्वसाधारणलाई आवतजावत गर्न समस्या भइरहेको स्थानीयवासीले बताएका छन्। मन्त्री शर्मालाई बरहथवा नगरपालिकाका प्रमुख देवानन्द महतो, पूर्वसांसद नरेन्द्र साह लगायतले ब्यारेजको अवस्थाबारे जानकारी गराएका थिए ।
निरीक्षणपछि मन्त्री शर्माले उक्त ब्यारेज जीर्णोद्धार र संरक्षणमा आफ्नो तर्फबाट सक्दो सहयोग रहने बताएका छन्।