सदरमुकाम मलंवामा सञ्चारकर्मीहरुसँग कुरागर्दै कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादव ।

सर्लाही, कात्तिक— १ कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले मलखादको समस्या र उखु किसानको पीडा सम्वोधन गर्नेगरी आफूले काम गर्ने बताएका छन् ।मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला आएका यादवले सोमवार बिहान सदरमुकाम मलंवामा सञ्चारकर्मीहरुसँग कुरागर्दै यस्तो बताएका हुन् । उनले हुलाकी सडकको काम चाडै सम्पन्न नहुने विस्वास व्यक्तगरे । सर्लाहीको पूर्व–पश्चिम हुलाकी सडक यसै आर्थिक वर्ष भित्रै निर्माण भएरै छाड्ने ठोकुवा गरे ।

यसअघि बजेट विनियोजन गर्दा प्रदेश सरकार अन्तर्गत परेको भए पनि यस वर्ष भने सङ्घीय सरकार मातहत राष्ट्रिय गौरवको आयोजनामा परेकाले सडक बन्नेमा आफू विश्वस्त रहेको मन्त्री यादवको तर्क थियो ।
सर्लाही क्षेत्र नं. २ बाट निर्वाचीत सङ्घीय सांसद एवं जनता समाजवादी पार्टीका नेता समेत रहेका मन्त्री यादव आफै पनि हुलाकी सडकको निर्माण कार्य अघि बढाउन माग गर्दै केही महिनाअघि सदरमुकाम मलंवास्थित शहीदचोकमा धर्नामा बसेका थिए । मन्त्री यादव लगाएत अन्य राजनीतिक दलका नेता कार्यकर्ताले धर्ना दिँदा समेत हुलाकी सडकको निर्माण कार्यले गति लिन सकेको छैन् ।
समयमा निमार्ण सम्पन्न नहुदाँ दक्षिण पश्चिम क्षेत्र बलरादेखि पूर्व सङ्ग्रामपुरसम्मको हुलाकी सडक पानी पर्दा हिलाम्मे र घाम लागेको समयमा धूलाम्मे हुदै आएको छ । सडकको दुरावस्थाका कारण त्याहाँका स्थानीय कष्टकर यात्रा गर्न बाध्यता छ ।
जसपाका नेता एवं कविलासी नगरपालिकाका प्रमुख कौशल किशोर यादवका अनुसार मन्त्री भएपछि असोज २८ गतेबाट जिल्ला भ्रमणमा आएका यादव पार्टी कार्यकर्तासँग भेटघाट सकि मंगलवार गृहगाउँ बसन्तपुर हुँदै काठमाडौंं फर्कने तयारीमा रहेका छन् ।