सर्लाही,असाेज ३०-शनिवारबाट केही दिन देशका धेरैजसो स्थानमा मौसम बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
पूर्वानुमान महाशाखाले शुक्रबार विशेष बुलेटिन जारी गर्दै यस्तो जानकारी दिएको हो।
महाशाखाका अनुसार भारतको आन्द्रप्रदेश तथा उडिसाको तटीय क्षेत्र आसपासको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले शनिबारबाट नेपालमा आंशिकदेखि सामान्य बदली हुने र आइतबारदेखि केही दिन देशभर सामान्यदेखि पूर्ण बदली हुने छ।
धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरीसहित भारी वर्षाको समेत सम्भावना रहेकाे बुलेटिनमा उल्लेख छ । उच्च पहाडी तथा हिमाली भू-भागहरूमा हिमपातको पनि सम्भावना रहेको बुलेटिनमा भनिएको छ ।