लालबन्दी,असाेज २६ –सर्लाहीको साबिक परवानिपुर गाविसका पूर्व अध्यक्ष जतन कुमार बुढाथोकीको मंगलवार साँझ सर्लाहीको बागमतीमा अन्त्येष्टि गरिएको छ ।
उनकाे मृत शरीरमा, नेपाली कांग्रेसका आमन्त्रीत केन्द्रीय सदस्य एवम् पूर्व राज्य मन्त्री शम्भुलाल श्रेष्ठ ,जिल्ला सभापति नागेन्द्र कुमार राय,पूर्व सभापतिहरू लक्ष्मण राय,सत्यदेव सिंह दनुवार पार्टीका अन्य पूर्व पदाधिकारीहरू,वर्तमान पदाधिकारीहरू,स्थानीय निकायका जनप्रतिनिधिहरू,कांग्रेसका अन्य सयाैं नेता कार्यकर्ताहरूकाे उपस्थितिमा पार्टीको झण्डा अोडाएर सम्मानसहित श्रद्धाञ्जली व्यक्त गरिएको युवा नेता एवम् जिल्ला कार्यसमिति सदस्य विश्वामित्र रिजालले चियाेचर्चाे खबरलाई जानकारी दिए ।
नेता बुढाथोकी ११ दिनअघि मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाईते भएका थिए । नेपाली कांग्रेस सर्लाही जिल्ला कार्य समिति सदस्य समेत रहेका पूर्व गाविस अध्यक्ष बुढाथोकीकाे उपचारका क्रममा सोमबार साँझ चितवन मेडिकल कलेज भरतपुरमा निधन भएको हो ।
बुढाथोकीको शवलाई आजै सर्लाही ल्याईएकाे थियो । असोज १५ गते साँझ रानिगन्जबाट लालबन्दी नगरपालिका–१६, स्थित परवानिपुर घरतर्फ जाँदै गर्दा मोटरसाइकल दुर्घटनामा परेका थिए । त्यसबेला दुईवटा मोटरसाइकल ठोक्किँदा बुढाथोकीसहित ४ जना घाईते भएका थिए । प्रहरीका अनुसार अन्य तीन जना घाईतेहरु उपचारपश्चात डिस्चार्ज भइसकेका छन् । लालबन्दी प्रहरीले उक्त दुर्घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ ।