लालबन्दी, असोज २६ -सर्लाहीका किसानलाइ यतिखेर धान भित्र्याउने व्यस्त भएका छन् । समयमा राम्रो बर्षा भएकोले किसानले यो बर्ष असार लाग्नासाथ धान रोपेका थिए । जिल्लामा अघाैटे जातका धान राेपेका धेरैजसो किसानले यतिबेला धमाधम धान काट्न सुरु गरेका छन ।
पर्याप्त आकाशे बर्षा भएकाले यसबर्ष धान उत्पादन समेत राम्रो हुने किसानहरुले बताएका छन् । जिल्लाको उत्तरी भेगमा अधिकांश किसानले लगाएको धान काट्ने बेलाभएको हाे । इश्वरपुर,लालबन्दी, हरिवन, बागमती,बरहथवा नगरपालिकाको विभिन्न क्षेत्रमा बेलैमा रोपिएको धान पाकेर भित्र्याउन थालिएको किसानहरुले बताएका छन् ।जिल्लाको दक्षिणी भेगमा साउनमा रोपिएको धान भने मंसिरमा पाक्ने गर्छ । सर्लाहीका २० वटै पालिकामा धान खेती हुन्छ ।बर्षाले साथ दिएकाले यस बर्ष धान खेती हुने अधिकांश भू–भागमा रोपाइ भएको छ ।कृषि ज्ञान केन्द्र मलंगवाले कतैकतै गवारो र लाही किरा जस्ता सामान्य रोगको प्रकोप देखिएपनि धान फलाइ राम्रै रहेको जनाएको छ । ज्ञान केन्दका प्रमुख कमलदेव प्रसाद कुशवाहाका अनुसार यस वर्ष धान उत्पादन बढ्ने अनुमान गरिएको छ ।उनले केही दिन आकाशे बर्षा नभए किसानले झुलिसकेको धान धमाधम भित्र्याउने जानकारी दिए । सर्लाहीमा ४६ हजार हेक्टरमा जमिनमा धान खेती हुने गर्दछ ।