मलंगवा, असोज २०—राष्ट्रिय मानवअधिकार आयोगले दोषी रहेको भनिएका पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरूद्ध जाहेरी दर्ता भएको छ ।
नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपा सर्लाही इन्चार्ज कुमार पौडेलको इन्काउन्टर प्रकरणमा बुधबार (आज) सरकारी वकिलको कार्यालयले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पूर्व गृहमन्त्री बादल र पूर्व प्रहरी महानिरीक्षक खनालविरूद्ध जाहेरी दर्ता गरेको हो ।
सर्लाही प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौरका अनुसार जाहेरी दर्ता भएको छ । उनका अनुसार जाहेरी दर्ता भएकाले अब बाँकी अनुसन्धान प्रक्रिया अघि बढ्ने छ । अनुसन्धानका लागि प्रतिवादीलाई उपस्थित गराउने पक्राउ पुर्जी जारी गर्नेलगायत कानुन अनुसार प्रकृया अघि बढ्नेछ।
पौडेल परिवार र विप्लव समूहले कुमारलाई प्रहरीले नियन्त्रणमा लिएर मारेको दाबी गर्दै त्तकालै प्रहरीमा जाहेरी दिन एका थिए । त्तकालिन समयमा प्रहरीले जाहेरी दर्ता गरेको थिएन। असोज १२ गते कुमारकी श्रीमती दुर्गादेवीले उजुरी दर्ताको माग गर्दै दिएको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरिप्रसाद फुयालको संयुक्त इजलासले उजुरी दर्ता गरेर अनुसन्धान थाल्न आदेश दिएको थियो ।
राष्ट्रिय मानवअधिकार आयोगले तत्कालीन गृहमन्त्री बादल र प्रहरी प्रमुख खनाल दोष रहेको भनेको थियो ।२०७६ असार ५ गते दिउँसो पौडेलेको प्रहरीसँगको दोहोरो भिडन्तमा मृत्यु भएको भनिएको थियो । मानव अधिकार आयोगको छानबिन टोलीले भने उनको इन्काउन्टर नभई हत्या गरिएको निष्कर्ष निकालेको थियो । आयोगले इन्काउन्टरको निर्देशन दिने तत्कालीन आइजिपी खनाल सम्मलाई कारबाहीको दायरामा ल्याउन माग पनि गरेको थियो ।