साइकल वितरण कार्यक्रममा सहभागी मन्त्री वीरेन्द्र प्रसाद सिंह ।

धनकौल,असोज १८ –सर्लाहीको धनकौलमा गाउँपालिका –१, धोविनियामा सोमवार (आज) छात्रालाई साइकल वितरण गरिएको छ । प्रदेश २ सरकारका महिला, बालबालिका तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहको प्रमुख आतिथ्यतामा श्री आधारभूत विद्यालय धोविनियाका छात्राहरुलाई साइकल वितरण गरिएको हो । प्रदेश २ सरकारको मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत मन्त्री सिंह,धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साह तथा विद्यालयका शिक्षक शिक्षिकाहरुको उपस्थितीमा साइकल वितरण गरिएको विद्यालय प्रशासनले जनाएको छ ।

बिगतका वर्षहरुमा छुटेका छात्राहरुलाई मन्त्री सिंहको पहलमा साइकल ल्याई वितरण भएको विद्यालयले जनाएको छ ।
आईतवार पनि मन्त्री सिंहले बरहथवाका ३ वटा विद्यालयका ७० जना भन्दा बढी छात्रालाई साइकल वितरण गरेका थिए । मन्त्री सिंहकै प्रमुख आतिथ्यतामा आधारभूत विद्यालय बरहथवा नगरपालिका–१५, हरपूर्वा, जनता आधारभूत विद्यालय बरहथवा नगरपालिका–१५, प्रिपाभित्ता र आधारभूत विद्यालय बरहथवा नगरपालिका–१, हजरियाका छात्राहरुलाई साइकल वितरण गरिएको थियो ।

विद्यालय प्रशासनका अनुसार मन्त्री सिंहको प्रमुख आतिथ्यता तथा बरहथवा नगरपालिकाका मेयर देवानन्द महतोको विशिष्ठ आतिथ्यतामा तीनवटै विद्यालयको कक्षा ८ का छात्राहरुलाई साइकल वितरण गरिएको हो । यसअघि शनिवार बसबरिया गाउँपालिकास्थित जनता मावि भवानीपुर र जनता मावि हरकठवाका छात्राहरुलाई पनि मन्त्री सिंह र गाउँपालिका अध्यक्ष राम अयोध्या यादवले साइकल वितरण गरेका थिए ।