लाबन्दी,असोज १५—सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा शुक्रवार (आज)बाट सुरुभएको चौंथो नगर स्तरीय वडाध्यक्ष कपको उद्घाटन खेलमा वडा नं. ११ बिजयी भएको छ। आयोजक वडा नं. १ लाई वडा नंं. ११ ले २–० गोलले पराजित गरेको हो । नगरपालिकाको आर्थिक सहयोगमा जिवेश्वर युवा क्लबले नवलपुरस्थित फुटबल मैदानमा प्रतियोगिता आयोजना गरेको छ ।
उक्त प्रतियोगिताको आज दिउँसो लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्काले उद्घाटन गरे । लालबन्दी नगरपालिका–१, का वडाध्यक्ष पन्चलाल स्याङ्बोको अध्यक्षतामा आयोजित प्रतियोगिताको उद्घाटन समारोहमा पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ, लालबन्दी नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष, अन्य जनप्रतिनिधि, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका प्रसाद आचार्य र फुटबलसँग सम्बन्धित सरोकार वालको उपस्थिति रहेको थियो ।
आज उद्घाटन गरिएको खेल असोज २५ गते फाइनल खेल गराउदै सम्पन्न हुने अयोजकले जनाएको छ । प्रतियोगितामा नगरभित्रका १७ वटै वडाले सहभागिता रहेने छ । प्रतियोगिताको बिजेतालाई ६६ हजार ६ सय ६६ रुपैयाँ र उपबिजेतालाई ३३ हजार ३ सय ३३ रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । अनुशासित टिमलाई ५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । फुटबल खेलले नागरिकलाई स्वस्थ रहन मद्दत गर्ने भएकाले यसको बिकासमा नगरपालिकाले अलि बढीनै ध्यान दिनुपर्नेमा बक्ताहरुले जोड दिएका थिए ।