सर्लाहीका कांगे्रसी नेताहरु आइतवार गृहमन्त्री बालकृष्ण खाँडसँग भेटर ,नाका खुलाइदिन आग्रह गर्दै । (तस्विर : कांग्रेस नेता कौशल सिंहको वालबाट)

मलंगवा, असोज १० – नेपाल–भारत सीमा नाका खुला गर्न गरिएको मन्त्रीपरिषद् निर्णयको कार्यान्वयनको माग गर्दै सर्लाहीका कांगे्रसी नेताहरुले आइतवार गृहमन्त्री बालकृष्ण खाँडसँग भेट गरेका छन् ।
भेटमा गृह मन्त्रालयबाट स्थानीय प्रशासनलाई परिपत्र गर्दै नाका अविलम्ब खुलाइदिन आग्रह गरिएको हो । जवाफमा गृहमन्त्री खाँडले स्थानीय प्रशासनलाई तत्काल परिपत्र गर्ने भनेर अश्वासन दिए ।


झण्डै दुई वर्षदेखि कोरोना संक्रमणको कारण देखाउँदै पूर्णरुपमा बन्द गरिएको नाका अझैसम्म नखुल्दा नागरिकले सास्ती खेपीरहेको भन्दै सर्लाहीका कांग्रेस नेताहरु आइतवार गृहमन्त्री भेटन पुगेका हुन् । सर्लाही कांग्रेसका जिल्ला सभापति नागेन्द्र कुमार राय, केन्द्रिय सदस्य जंगिलाल राय, सभासद तथा प्रदेश २ का प्रमुख सचेतक उपेन्द्र कुश्वाह ,प्रदेश नं. २ का युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंह,नेता कौशल सिंह लगायतको टोली गृहमन्त्रीको ध्यानाकर्षण गराए ।


यता, आईतवारनै जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) सर्लाहीको बैठकले सर्लाहीका ८ वटा नेपाल–भारत सीमा नाका खोल्ने निर्णय गरेको छ ।
आइतवार दिउँसो सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले नेपाल सरकारले गरेको निर्णयानुसार जिल्लाका ८ वटा नाकाहरुबाट आवतजावत गर्न दिने निर्णय गरेको हो । बैठकले सदरमुकाम मलंगवास्थित गोरखकाली नाका, पर्सा गाउँपालिकास्थित संग्रामपुर र पर्सा नाका, ब्रम्हपुरी गाउँपालिकास्थित त्रिभुवननगर नाका, मलंगवा नगरपालिकास्थित भाँडसर नाका, विष्णु गाउँपालिकास्थित बाराउद्योरण र फेन्हरा नाका खुलाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले बताए ।

उनले प्रत्येक नाकामा स्थानीय पालिकाहरुमार्फत हेल्थ डेक्स स्थापना गर्ने र स्वास्थ्य कार्यालयमार्फत एन्टिजेन परीक्षण गर्ने निर्णय भएको बताए । नेपालको तर्फबाट नाका खुलाउने निर्णय भएको र यसका लागि भारतीय तर्फ पनि समन्वय गर्न आफूले पहल गरेको उनको भनाई छ ।