मलंगवा,असोज—९ सर्लाही सदरमुकाम मलंगवामा शनिवार (आज) दुई जनाको शव फेला परेको छ । जसमध्य एक नवजात शिशुसहित रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण गिरीका अनुसार मलंगवा नगरपालिका वडा नं. ४ मा रहेको पोखरीमा अन्दाजी ७ महिनाजतिको शिशुको शव फेला परेको हो ।
उनका अनुसार मलंगवाको पानीटंकीबाट उत्तर पल्सी जाने सडक छेउमा रहेको उक्त पोखरीमा शनिवार बिहान तैरिरहेको अवस्थामा शिशुको शव देखेपछि स्थानीयवासीले प्रहरीमा खबर गरेका थिए । शरीरका अंगहरु विकास भइसकेकाले शिशु छोरा रहेको पुष्टी भएको प्रहरीले जनाएको छ । शिशु कस्ले फालेको हो ? भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गिरीले जानकारी दिए । स्थानीयवासी श्याम महतोले गर्भावस्थाकै शिशु फालेको जस्तो देखिएको बताए । उता शनिवार दिउँसो सदरमुकाम मलंगवा नगरपालिका वडा नं. ७ गणेशियास्थित नहरमा एक बेवारिसे पुरुषको शव फेला परेको छ । कुहिन थालेको अवस्थामा अन्दाजी ३५÷४० वर्षका पुरुषको शव फेला परेको प्रहरी निरीक्षक गिरीले जनाए । स्थानीयले पनि पुरुषको शव पहिचान गर्न नसकेको प्रहरीेले जनाएको छ । दुवैको मृत्युको कारण खुल्न नसकेको र शवको पोष्टमार्टमका लागि मलंगवास्थित जिल्ला अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।