प्रतिकात्मक तस्विर ।

पर्सा,भदौ—२८, पर्साको पटेर्वासुगौली गाँउपालिकाको फरहादवा जङगलक्षेत्रमा काठ तस्कर र नेपाल प्रहरीबिच झडप भएको छ ।
पर्साका प्रहरी प्रवक्ता ओमप्रकाश खनालका अनुसार जिल्लाबाट खटिएको प्रहरी टोली र काठ तस्करबिच सोमबार बिहान ४ बजे भिडन्त भएको हो । भिडन्तका क्रममा प्रहरीले तीन राउन्ड हवाई फायर गरेको जनाएको छ ।


जङगल क्षेत्रबाट सालको गोलिया काठ मोटरसाइकलमा राखेर ल्याउँदै गरेका चार वटा मोटरसाइकलमा सवार ८ जना तस्करलाई प्रहरीले रोक्ने क्रममा भिडन्त भएको पर्सा प्रहरीले जनाएको छ । प्रहरी टोलीले रोक्न खोज्दा ८ जनाको संख्यामा रहेका काठ तस्करहरुले प्रहरीमाथि नै जाइलागेपछि आत्मरक्षाका लागि प्रहरीले तीन राउन्ड हवाई फायर गर्नु परेको प्रहरी नायव उपरीक्षक खनालले बताए । प्रहरीले हवाई फायर गरेपछि तस्करहरु दुई वटा मोटरसाइकल र काठ छाडेर भागेका छन् । घटनास्थलबाट काठ तस्करीमा प्रयोग भएका दुई वटै मोटरसाइकल र दुई वटा ठूला गोलिया काठ बरामद गरीएको प्रवक्ता खनालले बताए ।