
लालबन्दी,भदौ,२७ – प्रियंका भुजेल हत्या प्रकरणका अभियुक्त अनिष दाहाललाई पूर्पक्षका लागि कारागार चलान गर्न सर्लाही जिल्ला अदालतले आदेश दिएको छ ।
आईतवार (आज) मुख्य न्यायाधीश ध्रुव कुमार पियाको इजलाशमा भएको थुनछेक बहसपछि १९ वर्षीय दाहाललाई मुद्दाको अन्तिम फैसला नहुन्जेल पूर्पक्षका लागि सिन्धुली जिल्ला कारागार चलान गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय मंगवाले जनाएको छ ।

केहीदिन अघि प्रियंकाको हत्यामा संलग्न अर्का अभियुक्त १७ वर्षीय कृष्ण साहलाई पूर्पक्षका लागि वीरगन्जस्थित बाल सुधार गृह पठाइएको थियो ।
मुख्य न्यायाधीश पियाकै इजलाशले नाबालक कृष्णलाई नेपालको प्रचलित कानुन बमोजिम बाल सुधार गृहमा राख्न आदेश दिएको हो ।
गएको साउन ३१ गते राती घरबाटै बेपत्ता भएकी लालबन्दी–१७, रानिगन्जका राजेश भुजेलकी १४ वर्षीया छोरी प्रियंकाका भदौ १ गते राती घरदेखि पश्चिम उत्तर कालिन्जोर खोलामा गाडीएको अवस्थामा शव फेला परेको थियो । प्रहरी अनुसन्धानमा अनिष र कृष्णले बलात्कार गरी प्रियंकाको हत्या गरेको स्वीकार गरेका थिए । प्रियंका र ती दुई जनाबीच पहिले देखिनै चिनजान र सम्पर्क हुँदै आएको प्रहरी अनुसन्धानमा खुलेको थियो ।
हत्यापछि फरार भएका अनिष र कृष्णलाई प्रहरीले सर्लाहीको चन्द्रनगर गाउँपालिकास्थित मोहनपुरमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरेको थियो । पक्राउ परेपछि उनीहरुले नै प्रियंकाको शव गाडेको स्थान देखाएका थिए ।