रौतहट, भदौ—२३,उमेरले ४० वर्षको हाराहारीमा रहेका सहसचिव इन्द्रदेव यादव रौतहट जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा छन् ।यादवले प्रजिअ भएर कामग रेको यो पहिलो जिल्ला हो । उनले एक वर्षअघि रौतहटको प्रजिअको जिम्मेवारी पाएका थिए । २०२४ सालदेखि यस जिल्लामा ५४ जना प्रजिअले  जिम्मेवारी पाएको अभिलेख छ ।

तर, कार्यसम्पादन मूल्यांकनमा रौतहट सधैँ पछाडि रहेको पाइन्छ । गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकन सूचीमा ६०औँ स्थानको हाराहारीमा हुने रौतहट जिल्ला यस वर्ष उत्तम श्रेणीमा परेको छ ।
 रौतहट भन्नेबित्तिकै इमान्दार कर्मचारीहरूको रोजाइको जिल्ला पर्दैन । आचरण खराब भएका, सेवा अवधि सकिन लागेकाहरूलाई प्रमुख बनाएर यहाँ खटाउने चलन जस्तै छ । नेताहरूले आफ्ना पक्षका प्रशासकहरू ल्याउने पनि गरेका छन् ।

इमान्दार र जागिरे जीवनमा भविष्य बोकेकाहरू विवादमा परिने, जोखिममा पर्ने भयले  सकभर यहाँ आउनै मान्दैनन्, आए पनि चाँडै सरुवा गराएर जान चाहन्छन् ।यो जिल्ला सुरक्षा निकायका प्रमुखहरूका लागि पनि चुनौतीपूर्ण जिल्ला हो । यहाँ धेरै सुरक्षा निकायका प्रमुखहरू विवादमा मुछिएका पनि छन् । अपराध, सिमानामा हुने विभिन्न विवाद, तस्करी, बाढी, डुबान जस्ता विपद् र जोखिम नियन्त्रण, सुशासन, सार्वजनिक सेवा प्रवाह जस्ता क्षेत्रमा प्रभावकारी रूपमा काम गर्न यस जिल्लामा धेरै चुनौतीहरू छन् । राजनीतिक दलका नेताको दबाब पनि यहाँका प्रशासकहरूले उत्तिकै झेल्नुपर्छ । 

विगत वर्षहरूमा गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकन सूचीमा ६०औँ स्थानको हाराहारीमा हुने रौतहट आर्थिक वर्ष २०७७/०७८ मा १९औँ स्थानमा आइपुगेको छ । यो स्थान गृह मन्त्रालयको उत्तम श्रेणीमा पर्छ । यस वर्ष देशभरका ७७ जिल्लामध्ये १९औँ र प्रदेश २ का आठ जिल्लामध्ये रौतहट प्रथम स्थानमा मूल्यांकन भएको प्रजिअ यादवले जानकारी दिए ।जिल्लाबासीको सहयोग र समन्वय तथा आफूले इमान्दारीका साथ प्रशासकीय भूमिका निर्वाह गरेकाले सफलता मिलेको उनी बताउँछन् ।(न्युज कारखाना)