उदयपुर,भदौ—२० उदयपुरमा बाढीले बगाउँदा १३ वर्षीया बालिकाको मृत्यु भएको छ । आइतवार बिहान जिल्लाको त्रियुगा नगरपालिका– ७ स्थित भालु खोलामा आएको बाढीले अटोसहित बगाउँदा १३ वर्षीया बालिकाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी बेदप्रसाद गौतमका अनुसार फसेको अटो निकाल्न गएकी बालिकाको भालु खोलामा एक्कासि आएको बाढीले बगाउँदा मृत्यु भएको हो ।
भालु खोलामा फसेको आफ्नो प्र. १–०५–००१ ह ०१२७ नम्बरको अटो निकाल्न पिता यमकुमार राई , १३ वर्षीया छोरी यसिका राई परिवारसहित गएकी थिईन् । बालिका र अटोलाई माथिबाट एक्कासि आएको बाढीले बगाएको थियो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक सुवासचन्द्र बोहरासहितको टोलीले खोज तलास गर्ने क्रममा बालिकाको शव घटनास्थलबाट आठ किलोमिटर तल दक्षिण त्रियुगा नगरपालिका– ९ त्रियुगा खोलामा फेला पारेको छ । अटो भने पाँच सय मिटर तल फेला परेको प्रहरीले जनाएको छ ।