मलंगवा,भदौ–१८,खाना पकाउने ग्याँस सिलिण्डर भित्र लुकाएर ल्याउँदै गरेको नेपालमा प्रतिबन्धित लागूऔषधसहित दुईजना भारतीय नागरिकलाई सशस्त्र प्रहरी बल सर्लाहीले पक्राउ गरेको छ ।
प्रक्राउ पर्नेमा भारतको सितामाढी जिल्ला रुवी सैदपुर थाना निवासी ६३ वर्षीय सुरेन्द्र राउत र सोही ठाउँ घर भएका ३२ वर्षीय नेता शर्मालाई रहेका छन्। उनिहरुलाइ औषधीको रुपमा प्रयोग हुने नेपालमा प्रतिबन्धित वीनसीरेक्स ९४ बोतल सहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल सर्लाहीले जनाएको छ ।
सशस्त्र प्रहरी बल १० नम्बर गण कबिलासीका गणपति सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठका अनुसार बोर्डर आउट पोष्ट मलंगवाको टोलीले ग्याँस सिलिण्डर बोकेर आएका दुवैजनालाई शुक्रबार दिउँसो साँढे ३ बजे ३२५ नम्बरको सीमा स्तम्भ नजिक रोकेर चेकजाँच गर्दा सिलिण्डरको तलपट्टी कालोटेपले टाँसेर सय मिलिलिटर दरका ९४ वटा बोतलहरु प्याक गरिएको अवस्थामा फेला परेको थियो । एउटा सिलिण्डरमा ४८ तथा अर्को सिलिण्डरमा ४६ वटा बोतलहरु फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।
लागूऔषध सहित पक्राउ परेका दुवैजना भारतीय नागरिकलाई आवश्यक कार्बाहीका लागि जिल्ला प्रहरी कार्यालय मलंगवाको जिम्मा लगाईएको सप्रउ श्रेष्ठले जानकारी दिए । भारतमा खुला रुपमा किनबेच हुने कोरेक्स, वीनसीरेक्स लगायत खोकीका औषधीहरु नेपालमा भने प्रतिबन्धित रहेको छ । लागूऔषधको रुपमा प्रयोग बढ्दै गएपछि भारतमा उत्पादन हुने विभिन्न औषधीहरु नेपालमा प्रतिबन्ध लगाईएको हो ।