समर्थन जनाउने पालिका प्रमुखहरु मध्यका एक बलरा नगरपालिकाका मयेर अभय सिंह ।

मलंगवा भदौ—१७, सर्लाहीमा राष्ट्रिय जनता पार्टी (राजपा) का ७ मध्य ५ जना निर्वाचित पालिका प्रमुखहरुले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाललाई समर्थन जनाएका छन् । बिहिवार जिल्ला निर्वाचन कार्यालय मलंगवामा पुगि उनिरुले (लोसपा)का लागि आफ्नो समर्थन जनाउदै सनाखत गरेका हुन ।


गत निर्वाचनमा तत्कालिन राजपा र तत्कालिन फोरम नेपालले जिल्लाको सात पालिकामा विजय हसिल गरेको थियो । पार्टी बिभाजन पछि ठाकुरको गृहजिल्लासमेत रहेको सर्लाहीमा (लोसपा) बलियो देखिएको छ । बिहिवारको सनाखतसंगै ठाकुर नेतृत्वको (लोसपा)मा ८५ प्रतिशत पालिका प्रमुखहरुको समर्थन पुगेको छ ।
बिहिवार (लोसपा) मा आफ्नो समर्थन जनाउने पालिका प्रमुखहरुमा बलरा नगरपालिकाका मयेर अभय सिंह, गोडैता नगरपालिकाका मेयर देवेन्द्र यादव कौडेना गाउँपालिकाका अध्यक्ष राम प्रसाद यादव, र चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महेन्द्र महतो रहेका जिल्ला निर्वाचन कार्यालयले मलंगवाले जनाएको छ । जसमध्य चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महेन्द्र महतो (लोसपा) का बरिष्ठ नेता राजेन्द्र महतोका दाजु हुन ।
ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष विनोद साहले बुधबार नै आफ्नो पालिका का २९ जना निर्वाचित जनप्रतिनिधिहरुलाई साथमा लिएर जिल्ला निवार्चन कार्यालयगई आफ्नो समर्थन जनाउदै सनाखत गराईसकेका छन् । योसंगै सर्लाहीमा अव २ पालिका प्रमुखहरु मात्र जनता समाजवादी पार्टी (जसपा)मा बाकी रहेका छन् ।
निर्वाचन आयोगले निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न यही भदौ २२ गते अपराह्न ५ बजेसम्मको समय सीमा दिएको छ । सरकारले हालै ल्याएको अध्यादेश अनुसार सङ्घीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सक्ने व्यवस्था गरेपछि जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल दर्ता भएको हो ।
अध्यादेश अनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दल दर्ता प्रक्रिया शुरु भएको मितिले २१ दिनभित्र दल रोज्न सक्ने व्यवस्था भए अनुसार भदौ २२ गतेभित्र दुबै दलका जनप्रतिनिधिले सनाखत गर्नुपर्ने छ । प्रदेशसभा सदस्यहरुले प्रदेश निर्वाचन कार्यालय र स्थानीय जनप्रतिनिधिहरुले जिल्ला निर्वाचन कार्यालयमा गएर सनाखत गर्नुपर्ने छ । सनाखत गर्नका लागि नागरिकता वा मतदाता परिचय प्रमाणपत्र, निर्वाचित भएको वा प्रदेशसभा÷स्थानीय तहबाट जारी भएको परिचयपत्र वा प्रमाणपत्र साथमै लैजानुपर्ने व्यवस्था छ ।