महोत्तरी, भदौ —१७, महोत्तरी प्रहरीले भण्डारण गरी राखेको २०३ बोरा केराउ (मटर) बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रमुख प्रकाश विष्टका अनुसार बुधवार राती जिल्लाको एकडारा गाउँपालिका–५ बहेडा गाउँस्थित रामकृपाल साहको सटरमा भण्डारण गरी राखेको अवस्थामा केराउ (मटर) बरामद गरिएको हो ।


जिल्ला प्रहरी कार्यालयबाट खटीएको विशेष टोलीले नेपालबाट भारततर्फ तस्करी गर्ने उद्देश्यले भण्डारण गरी रखिएको एउटा बोराभित्र २५ किलोका दरले प्याक गरिएको पाँच टन ७५ किलोग्राम केराउ (मटर) नियन्त्रणमा लिएको बताइएको छ । बुधवार रातिनै प्रहरीले जलेश्वर–३ बाट तीन बोरा मटर र दुई बोरा सुर्ती पनि बरामद गरेको थियो। बरामद केराउ (मटर) आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय मलिवाडामा बुझाइएको प्रहरीले जनाएको छ ।