पर्सा,भदौ १५—वीरगन्जको सिर्सिया बहुअरी चोकमा मंगलवार (आज) भारतीय नम्बरको ग्यास बुलेटको ठक्करबाट एकजना युवकको ज्यान गएको छ । वीरगन्जबाट पश्चिमतर्फत साइकलमा गइरहेका बहदुरमाई नगरपालिका वडा नम्बर २ पिपरा टोलका ३० वर्षिय युवक लालबाबु साहको बुलेटबाट ठक्कर ज्यान गएको हो ।
साहलाई आइसिपी भन्सार नाकाबाट निस्किएको एनएल ०१ एबि ४३७५ नम्बरको ग्यास बुलेटले दिउँसो साढे १२ बजेतिर ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ ।
ट्राफिक ब्यवस्थापनमा खटिएको ट्राफिक प्रहरीको गल्तीका कारणले दुर्घटना भएको भन्दै स्थानीयले एक घण्टा चक्का जाम गरेका थिए । उनिहरुले ट्राफिक प्रहरीले सवारी ब्यवस्थापनमा चाँसो नदिएका कारण घटना भएको आरोप लगाएका छन् । ठक्कर दिने ग्यास बुलेट र त्यसका चालक भारतको मुजफरपुर घर भएका २६ वर्षिय ललन कुमार रायलाई प्रहरीले नियन्त्रणमा लिएकाे जनाएको छ ।