हरिवन,भदौ—१३,सर्लाहीको हरिवन नगरपालिकामा शाखा रहेको मानव सेवा आश्रम १० औँ वर्षमा प्रवेश गरेको छ । हरिवन नगरपालिका–९ स्थित एक विद्यालयको पुरानो भवन भाडामा लिएर सञ्चालनमा आएको मानव सेवा आश्रम आईतवारबाट ९ वर्ष पुरा भई १० औँ वर्षमा प्रवेश गरेको हो ।
मकवानपुर हेटौँडामा मुख्य कार्यालय रहेको आश्रमका देशभर १६ वटा जिल्लामा २३ वटा शाखाहरु रहेका छन् । सर्लाहीमा रहेको आश्रम १५ शाखा हो ।
आश्रमले १० औँ वर्षमा प्रवेश गरेको अवसरमा सर्लाही शाखामा वृक्षारोपण तथा नाँच गान गरी मनाईएको छ । आश्रमले विभिन्न सहाराविहिन वृद्धवृद्धा मानसिक रोगी लगायतलाई आश्रय दिने गरेको छ ।
सर्लाही शाखामा अहिले ३० जना महिला र ३१ जना पुरुष गरी जम्मा ६१ जना आश्रयविहिन सडक मानव,मानसिक रोगी तथा बेसहारा वृद्धवृद्धा आश्रीत रहेको सर्लाही शाखाकी संयोजक मनिषा केसीले जानकारी दिईन् ।