साइकल वितरण कार्यक्रममा सहभागी प्रदेश सभा सदस्य उपेन्द्र कुशवाहा, मेयर देवेन्द्र यादव, उपमेयर अन्जना कुशवाहा लगायत ।

गोडैता, भदौ ११ – सर्लाहीको गोडैता नगरपालिकाका दुई विद्यालयमा बिहिवार १०५ जना छात्रालाई साइकल वितरण गरिएको छ । प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत गोडैता नगरपालिका–२, जयनगरमा रहेको जनता आधारभुत विद्यालयका ५५ जना र गोडैता नगरपालिका–६, बगदहमा रहेको रामजानकी आधारभुत विद्यालयका ५० जना छात्रालाई साइकल वितरण गरिएको हो ।

साइकल वितरण कार्यक्रममा प्रदेश सभा सदस्य उपेन्द्र कुशवाहा, मेयर देवेन्द्र यादव, उपमेयर अन्जना कुशवाहा लगायतको आतिथ्यता रहेको थियो । गत वर्ष कक्षा ८ मा अध्ययन गरी यो वर्ष कक्षा ९ मा प्रवेश गरेका छात्राहरुलाई साइकल वितरण गरिएको विद्यालयहरुले जनाएका छन् ।

गाउँपालिका अध्यक्ष महेन्द्र महतो ,किसानहरुलाई पावर टिलर प्रदान गर्दै ।

उता, चन्द्रनगर गाउँपालिकामा बिहिवार कृषक समुहमार्फत किसानहरुलाई कृषि सामग्री वितरण गरिएको छ । गाउँपालिका अध्यक्ष महेन्द्र महतोको प्रमुख आतिथ्यतामा किसानहरुलाई पावर टिलर, विद्युतीय मोटर र स्प्रे टंकी वितरण गरिएको हो ।