लालबन्दी,भाद्र १० – सर्लाहीको विष्णु गाउँपालिकाबाट भारतीय सीमा दशगजादेखि सिन्धुलीस्थित मदन भण्डारी लोकमार्गसम्म सडक सञ्जाल जोड्नका लागि नेपाली कांग्रेसका नेताहरुले सक्रियता देखाएका छन् ।
कांग्रेसका पूर्व पार्टी जिल्ला उपसभापति एवं महाधिवेशन प्रतिनिधि विनोद खनालसँगै कांग्रेसको तर्फबाट हरिवन नगरपालिकामा मेयरका प्रत्यासी दीलिप राज भण्डारी, नेताहरु भिखारी राय, रमेश भट्टराई, मुकुन्द थपलिया, चेतन रिजाल र संचारकर्मीहरुसहितको टोलिले बुधबार यस विषयमा विष्णु गाउँपालिकाका अध्यक्ष जवाहारलाल राय र कौडेना गाउँपालिकाका अध्यक्ष राम प्रसाद यादवसँग भेटेर छलफल गरेका थिए ।
छलफलको क्रममा दुवै गाउँपालिकाका अध्यक्षले यो सडक सञ्जाल भविष्यमा प्रदेश २ र बागमती प्रदेश लाई जोड्ने महत्वपूर्ण मार्गकोरुपमा रहने विश्वास व्यक्तगरेका गरे । उनिहरुले हरिवन–कौडेनाहुँदै सीमरा फेन्हरासम्मको सडकलाई मदन भण्डारी लोकमार्गसँग लिंक गराउने अभियानका लागि प्रतिवद्धता व्यक्त गरे । डीपीआर निर्माणका लागि आफुहरु बजेट उपलब्ध गराउन तयार रहेको बताए ।
छलफलको क्रममा पालिका प्रमुखहरुले सीमाको दशगजादेखि सिन्धुलीस्थित मदन भण्डारी लोकमार्गसम्म सडक सञ्जाल जोडिदा नेपाल भारतबिच अहिले हुदै आएको व्यापारीक कारोवारमासमेत वृद्धिहुने र भविश्यमा नीजि स्तरबाट चुरे क्षेत्रमा होटल रिसोट सञ्चालन हुने सम्भवना भएकाले यसले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदा पुग्ने विश्वास व्यक्तगरे ।
यसबारेमा केही दिन भित्रै हरिवनदेखि सीमरा फेन्हरासम्मको सडक अन्तर्गत पर्ने हरिपुर, बरहथवा, चक्रघट्टा तथा हरिवनबाट उत्तर सिन्धुलीको हरिहरपुरगढीसम्मका जनप्रतिनिधिहरुसँग थप छलफलको तयारी गरिएको सडक सञ्जाल विस्तारका लागि नेतृत्व गरिरहेका नेपाली कांग्रेस नेता विनोद खनालले बताए ।
सडक संरचना पहिलादेखिकै भएकाले यसको विस्तार तथा कालोपत्रे एवं कहीँकतै पुल पुलेसा निर्माण गर्नुपर्ने भएकाले भारतीय सिमाक्षेत्रदेखि प्रदेश दुई हुँदै बागमती प्रदेशको मदन भण्डारी लोकमार्गसम्म जोड्ने सडक स्तरोन्नती गर्दा आर्थिक, सामाजिक, साँस्कृतिक र भौगोलिक रुपमा ठूलो कायापलट हुने उनिहरुको विश्वास छ ।
यो सडक सञ्जालसंग जोडिएका सबै पालिका मिलेर सडकको डीपीआर निर्माणका लागि बजेट छुट्याउने तथा डीपीआर अनुसारको बजेट संघीय र प्रदेश सरकारबाट छुट्याउनका लागि पहल गरिने नेता खनालको भनाई छ । यसअघि कांग्रेस नेताहरुले हरिवन–क्यानेश्वर सडकलाई लोकमार्गसँग जोड्न पहल थालेका थिए ।