मलंगवा, भाद्र ४—सर्लाहीको लालबन्दी —१७,रानीगंज डाँडाटोलकी किशोरी प्रिंयका भुजेलको बलात्कारपछि हत्या भएको दावीसहित घटनामा संलग्नहरुलाई हदैसम्मको कानुनी कारवाही र पीडित परिवारलाई उचित राहत उपलब्ध गराउन माग गर्दै गाउँलेहरुले शुक्रवार (आज) जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।
उनिहरुले शंकास्पद व्यक्तिहरुलाई अनुसन्धानको दायरामा ल्याउनु पर्ने, किशोरीको मोवाइल फोनको कल डिटेलका आधारमा पनि अनुसन्धान अघि बढाउनु पर्ने, भिसेरा र पोष्टमार्टम रिपोर्टमा कुनै चलखेल हुन नहुने, पत्रकार सम्मेलन गरी दोषीहरुलाई सार्वजनिक गर्नुकासाथै कडा भन्दा कडा कारवाही हुनुपर्ने माग राख्दै प्रमुख जिल्ला अधिकारी रामकुमार महतोलाई ज्ञापन पत्र बुझाएका छन् ।
गएको साउत ३१ गते राती घरबाटै बेपत्ता भएकी लालबन्दी नगरपालिका–१७, रानिगन्ज डाँडाटोल बस्ने राजेश भुजेलकी छोरी प्रियंका भुजेल साउन १ गते राती लालबन्दी नगरपालिका–६, स्थित कालिन्जोर खोलामा मृत अवस्थामा फेला परेकी थिईन् । प्रहरीले किशोरी बेपत्ता भएपछि शङ्स्कापद लागि पक्राउ गरेका दुई युवकहरुले नै खोलामा गाडिएको अवस्थामा रहेको शव देखाएका थिए ।
संलग्न रहेको आसंकामा प्रहरीले गाउँकै १८ वर्षीय किसन साह र १९ वर्षीय अनिस दाहाललाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । सर्लाही प्रहरी प्रमुख प्रहरी उपरीक्षक संतोष सिंह राठौरका अनुसार जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ । उनका अनुसार घटनामा दोषी देखिएकाहरु सबैलाई पक्राउ गरि कारबाही गरिने छ । भुजेलका पिताले बलात्कार पछि हत्याको गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा किटानी जाहेरी दिईसकेका छन् ।