मलंगवा,भाद्र १—सर्लाहीमा निरन्तरको वर्षासंगै लखन्देही खोलामा आएको बाढीले जिल्लाका भिन्नि ठाउँमा कटान गरेको छ । प्रमुख जिल्ला अधिकारीसहितको टोलीले मंगलवार (आज) कटान क्षेत्रको निरीक्षण गरेका छन् ।
निरीक्षणमा रहेका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले हरिपुर नगरपालिका–९, पिडारी ढापटोलमा भइरहेको कटान रोक्न जनताको तटबन्ध कार्यालय हरिपुरका प्रमुखलाई निर्देशन दिएका छन् ।


प्रजिअ महतोले स्थानीय तहसँग समन्वय गरी भोलिबाटै तटबन्धको काम सुरु गर्न निर्देशन दिए । कौडेना गाउँपालिका ६ सक्रौलमा नयाँ बन्दै गरेको पुल कटान गरिरहेको पाइएको छ । ठेकेदारको लापरवाहीका कारण पुलको छेउको बाध भत्काउन थालेको स्थानीयको गुनासो छ ।
त्यहाँ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा पुलको कटान रोक्नका लागि अस्थायी तटबन्ध बनाउने भएका छन् । प्रजिअ महतोको टोलीले चक्रघट्टा गाउँपालिका–१, शिवनगरमा पनि लखन्देही खोलाले पुर्याईरहेको क्षतिको निरीक्षण गरे ।
निरिक्षणमा प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर, सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठ, जनताको तटबन्ध कार्यालय हरिपुरका प्रमुख रवीन्द्र शर्मालगाएतको सहभागिता रहेको थियो ।