सर्लाही, साउन ३२- कहिले मधेशवादी दल, कहिले नेकपा एमाले त कहिले माओवादी केन्द्र दलबदलू नेताको एउटा नमुना बनेका शिवपुजन राय अहिले पुन: माओवादी केन्द्रमा फर्किएका छन् । उनि यस अघि नेकपा एमालेमा रहेका थिए ।
रातो पासपोर्ट दुरुपयोग गरेको अभियोगमा प्रतिनिधि सभा सदस्य निर्वाचन लड्नबाट बन्चित भएका राय नेकपा एमाले र माओवादी (केन्द्र) मिलेर नेपाल कम्युनिष्ट पार्टी बन्नुअघि माओवादीमै थिए । पछि सर्वोच्चले एमाले र माओवादीलाई अलग–अलग गरेपछि उनी एमालेतर्फ लागेका थिए ।


पटकपटक पार्टी परिवर्तन गरिरहने उनलाई, सिधान्त भन्दा पनि शक्तिको राजनीकि गर्ने नेताको रुपमा स्थानीय लिने गरेका छन् । उनि चरम अवसरवादी नेता रहेको स्थानीयको बुझाई छ । पछिल्लो एक दशका यताको उनको राजनीतिक कृयाकलाबाट अनुमान लगाउने हाे, भनेपनि यर्थाथनै हुन जान्छ ।
सर्लाहीको ४ नम्वर निर्वाचन क्षेत्र अन्तर्गत रामनगर गाउँपालिकाको बिर्तामा घर भएका उनले काठमाण्डौंस्थित खुलमटारमा रहेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास पुगेर पार्टीमा प्रवेशको टिका लगाएका छन् ।

उनलाई प्रचण्डसहित माओवादी केन्द्र सर्लाहीका कार्यवाहक जिल्ला अध्यक्ष कमल बुढाथोकी, पार्टीका नेता एवं राष्ट्रिय सभा सदस्य राधेश्याम पासवान, पार्टीको ४ नम्वर क्षेत्रका नेता फकिरा महतो लगायतले खादा ओढाएर पार्टीमा स्वागत गरेका छन् ।
उनको लामो समय देखि सर्लाही क्षेत्र नं. ४ का कांग्रेस नेता एवं प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहसंग टकराव चल्दै आएको छ । यिनै दुई नेता विचको टकरावको कारण क्षेत्र नं. ४ सुरक्षाको हिसाबले अति संवेदनशील मानिदै आएको छ । माओवादी (केन्द्र) एउटा शक्तिशाली साझेदारको रुपमा सरकारमा सहभागी भएसंगै भएको उनको पुनरागमनलाई यस क्षेत्रका नागरिकले अर्थपूर्ण ढंगले हेरेका छन् ।