
मलंगवा,साउन ३२ – भूमि सम्वन्धी समस्या समाधान आयोग पुन : स्थापना गर्न माग गर्दै,नेकपा एमाले निकट अखिल नेपाल किसान महासङ्घ सर्लाहीले जिल्ला प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई हस्ताक्षर पठाएको छ ।

दुई सय मिटर कपडामा सयौँ भूमिहिन सुकुम्वासी, अव्यवस्थित बसोवासी र जनप्रतिनिधिहरुको हस्ताक्षर सङ्कलन गरेर सरकारलाई पठाइएको नेपाल किसान महासङ्घका केन्द्रीय सचिव राजकुमार उप्रेतीले जानकारी दिए । हरिवन, लालबन्दी, ईश्वरपुर, बागमती, हरिपुरलगायतका स्थानमा सङ्कलन गरिएको हस्ताक्षर सोमवार (आज) प्रमुख जिल्ला अधिकारी राम कुमार महतोमार्फत सरकारलाई बुझाइएको सचिव उप्रेतीले जानकारी दिए ।

आयोग पुनः स्थापना गरी भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोवासीको व्यवस्थापन गर्न माग गर्दै सर्लाही लगाएत देशका ७७ वटै जिल्लाबाट सोमवार एकसाथ तीन÷चार दिन लगाएर सङ्कलन गरिएको हस्ताक्षर प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई पठाइएको हो ।
हस्ताक्षर बुझाउनु अघि उनिहरुले मलंवाको शहीद चौकबाट र्याली निकालेका थिए ।

हस्ताक्षर बुझाउन एमाले सर्लाहीकी इन्चार्ज कमला देवी महतो, पूर्व मन्त्री बद्री न्यौपाने, एमालेको ओली समूहका जिल्ला अध्यक्ष राजनारायण साह, सचिव केदार खत्री, भूमि आयोग सदस्य संजिता घिमिरे र सुरेश कुमार साह, बिद्यार्थी नेता श्रीकृष्ण उप्रेती, समीम बाबु खान, उद्योग बाणिज्य संघ मलंगवाका अध्यक्ष वीरेन्द्र साह ,मुक्ति समाजका केंद्रीय सदस्य गोविन्द पास्मान, पूर्व युवा संघका जिल्ला उपाधयक्ष धीरेन्द्र शाह लगायत जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।