हरिवन,साउन ३०—नेपाली कांग्रेस हरिवनले शनिवार (आज) शताब्दी पुरुष बबरजंग थापा र नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंकबहादुर क्षेत्री लगायतका व्यक्तिहरुलाई सम्मान गरेको छ ।
यही साउनबाट १०० वर्ष लाग्नु भएका हरिवन नगरपालिका–९, निवासी थापालाई अभिनन्दन पत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
थापाले हरिवनको शैक्षिक, धार्मिक, सामाजिक लगायत क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको नेपाली कांग्रेस हरिवनले जनाएको छ ।
थापा हरिवनको महादेव जनता नमूना मावि र चतुर्भूजेश्वर जनता माविका संस्थापक, २०३२ सालको उपप्रधान पन्च, चतुर्भूजेश्वर मन्दिरका संस्थापकसहित विभिन्न संस्थामा योगदान पुर्याउने व्यक्तित्वको रुपमा परिचित छन् ।
यस्तै, कांग्रेसले नेपाल प्रेस युनियनको तर्फबाट उम्मेद्वार भई नेपाल पत्रकार महासंघ सर्लाही शाखाको अध्यक्षमा चुनिएका पत्रकार टंकबहादुर क्षेत्री लगायतका पत्रकारहरुलाई पनि सम्मान गरेको छ ।
त्यसैगरी कांग्रेसको तर्फबाट चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरीको अध्यक्षमा निर्वाचित बासुदेव निरौला, सगुन सहकारीमा कांग्रेसकै तर्फबाट प्रतिनिधित्व गर्ने विनोद कार्की लगायतलाई सम्मान गरेको कार्यक्रम संचालक एवं कांग्रेस हरिवनका उपसभापति डाकुरनाथ खतिवडाले जानकारी दिए । कांग्रेस हरिवनका नगर सभापति रामशरण उप्रेतीको अध्यक्षतामा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।