काठमाण्डौ,साउन २५—सरकारले आजदेखि कोरोनाविरूद्ध अस्ट्राजेनिका खोप दिने भएको छ । भुटान र जापान सरकारबाट प्रप्त खोप आजदेखि लगाईदै भएको हो । दोस्रो डोज खोपको पर्खाइमा रहेका ६५ वर्ष र सोभन्दा माथि उमेरका करिब १४ लाख जना नागरिकलाई अस्ट्राजेनिका खोप दिइने भएको छ । कोभ्याक्स सुविधामार्फत् प्राप्त गरेको अस्ट्राजेनिका खोप बिरामी र वैदेशिक रोजगारीमा जानेहरूलाई पनि लगाइने छ ।
आज (सोमवार) बाट अस्ट्राजेनिका खोप लगाउने अभियान सुरू भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले जनाएको छ । आजबाट सञ्चालन हुन लागेको खोप अभियान प्रदेश १ र २ मा भने केही दिन ढिलो हुने विभागले जनाएको छ । खोप जापानले अनुदानमा र भुटानले पछि फिर्ताहुने गरि उपलब्ध गराएको हो । पहिलो मात्रामा कोभिशिल्ड खोप लगाएर दोस्रो मात्राको खोपको पर्खाइमा रहेका १४ लाख नागरिकले सोमवारबाट यो खोप लगाउन पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयले जनाएको छ ।
दोस्रो मात्रा दिई बाँकी रहेको खोप भने विभिन्न रोगका बिरामीलाई प्राथमिकतामा राखेर दिइने विभागले जनाएको छ । वैदेशिक रोजगारी, अध्ययन र अन्य प्रयोजनका लागि विदेश जाने व्यक्ति, मृगौलाले काम नगरी डायलाईसिस गर्नुपर्ने र गरेका व्यक्ति, अंग प्रत्यारोपण गरेका व्यक्ति तथा अर्बुद रोगका बिरामीलाई प्राथमिकताका साथ दोस्रो मात्रा सुनिश्चित हुने गरी खोप लगाइने विभागले जानकारी दिएको छ । मन्त्रालयले प्रदेश र सबै जिल्लामा खोप लगाउने व्यवस्था गर्न आग्रह गरेको छ ।