भेलालाई सम्बोधन गर्दै, बरिष्ठ नेता महतो । तस्बिर : चियोचर्चो खबर ।

मलंगवा, साउन २४—जनता समाजवादी पार्टी (जसपा) का बरिष्ठ नेता एवं पुर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले “मधेसी एकता जिन्दावाद“को नारा नै मधेसी जनताको सबैभन्दा ठुलो कमजोरी रहेको बताएका छन् ।
मधेसी एकता मधेसी जनताको कल्याणको लागि चाहिन्छ ,कल्याण गर्नको लागि ताकत चाहिन्छ र ताकतको लागि एकता चाहिन्छ अनी मात्रा मधेसी एकता जिन्दावाद हुन्छ ,उनले भने ।
बारम्बार मधेसका जनताहरु मधेसीहरु बिच एकता हुनुपर्छ भन्ने आवाज उठाउँदै आएका छन् । एकता पनि गर्यौ तर पनि हामीमाथि एकता किन गरेको भन्ने प्रश्न उठेको छ ,नेता महतोले भने । जसपाका सर्लाही जिल्ला अध्यक्ष राम प्रसाद राय यादवको अध्यक्षतामा आयोजना भएको भेलालाई आईतवार (आज) सम्बोधन गर्दै, बरिष्ठ नेता महतोले यस्तो बताएका हुन्।
महन्थ पक्षका आर्का नेता एवं प्रदेश न–२ का पुर्व भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले अगुवा कार्यकर्ता भेलामार्फत तत्कालीन केपी ओली नेतृत्वको सरकारमा जसपा महन्थ ठाकुर पक्षबाट सहभागी हुँदाको १८ दिनको अवधीमा पार्टीले मधेस र मधेसी जनताको लागि गरेका कामको विवरण प्रस्तुत गरेका थिए ।
निर्वाचन आयोगबाट जसपाको आधिकारिकता नपाए पनि ठाकुर पक्षले प्रदेश न–२ का सर्लाही लगायत अन्य जिल्लाहरुमा सोही पार्टीकै ब्यानरमा कार्यकर्ता भेला गरेका छन् ।
सर्लाहीको सदरमुकाम मलंगवामा आईतवार भएको अगुवा कार्यकर्ता भेलालाई महतोसहित नेता जितेन्द्र सोनल,अभिराम शर्मा, प्रदेश न–२ का प्रदेश सभा सदस्यहरु ,केन्द्रीय सदस्यहरु लगयतले पनि सम्बोधन गरेका थिए ।
ओली सरकारमा सहभागी भएर जसपामा विभाजनको बिउ रोपेको भन्नेदेखि मधेस विरोधी तथा प्रतिगमनको मतियारसम्मको आरोप खोपिरहेको ठाकुर पक्ष नेताहरु मधेस विरोधीको आरोप चिर्न यतिखेर मधेस दौडाहा गर्ने क्रममा सर्लाही आइपुगेका हुन् ।
ठाकुर पक्षका नेताहरुले आइतवार सर्लाहीको सदरमुकाम मलंगवामा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता यादव पक्षलाई दिएपछि ठाकुर पक्ष पार्टीको आधिकारिकताको लागि सर्वोच्च अदालत पुगेको छ । सर्वोच्चमा हालेको मुद्दा हाल विचाराधीन छ ।