जनकपुर,साउन २४—प्रदेश २ सरकारले छात्रालाई निःशुल्क दिदैआएको साईकल वितरण कार्यलाई स्थगित गरेको छ । मुख्यमन्त्री ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत प्रदेश सकारले विद्यालय मार्फत साईकल वितरण गर्दै आएको थियो ।
प्रदेशका विद्यालयहरुबाट धेरैनै साइकलको माग गर्दै निवेदन परेकाले सम्बन्धि कागजातहरु ठिक छकिछैन एकिन गर्न समय लाग्ने भएकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि वितरण स्थगित गरिएको सूचनामा उल्लेख छ । मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले आइतवार (आज) यस सम्बन्धी सूचना जारी गरेको हो ।
मुख्यमन्त्री ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत प्रदेश–२ सरकारले सामुदायिक विद्यालयका कक्षा–८ मा अध्ययन गर्ने छात्रालाई अध्ययनमा प्रोत्साहन गर्न साईकल बितरण गर्दै आएको थियो ।
यस अघि प्रदेश सरकारले २ नं.प्रदेशमा जन्मिने छोरीको बीमा गर्ने कार्यक्रम सञ्चालन गरेको भएपनि गएको बर्षदेखिनै यो कार्यक्रम बन्द गरेको छ ।