लालबनदी,साउन २३—बढ्दै गएको कोरोना सङ्क्रमण दर नियन्त्रणका लागि शनिवारबाट देशव्यापी रुपमा नेपाल मास्क अभियान सुरु गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अगुवाईमा सुरु भएको अभियानको पहिलो दिन शनिवार लालबन्दीस्थित पूर्व–पश्चिम राजमार्गमा चेतनामूलक ढङ्गले यात्री, सवारी साधनका चालक लगायतलाई मास्क वितरण गरिएको लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाका सहसंयोजक सुरेन्द्र खतिवडाले जानकारी दिए ।
स्वास्थ्य शाखाका कर्मचारीहरुले सडकमा मास्कबिना हिँडिरहेकाहरुलाई अनिवार्य रुपमा मास्क लगाउन आग्रह गर्दै मास्क समेत वितरण गरेका छन् । मास्कको सही प्रयोग र सबैले अनिवार्य प्रयोग गर्नुपर्ने गरी सचेतना अभियान संचालन गरिएको हो ।
कोरोना सङ्क्रमणको तेस्रो लहर आउन सक्ने विज्ञको चेतावनीका बाबजुत मास्क नलगाउनेको सङ्ख्या बढ्दै गएकोले सो अभियानको आवश्यकता परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आजबाट सुरु भएको अभियान साउन २९ गतेसम्म संचालन हुनेछ । शनिवारबाट ईश्वरपुर नगरपालिकाको बयलवास बजारमा प्रहरीले तपाईको मास्क खोई ? अभियान पुनः संचालन गरेको छ । सर्लाहीमा प्रहरीले कडिकडाउ गर्दा अधिकांशले मास्क लगाएर हिँड्ने गरेका भएपनि अहिले निषेधाज्ञा खुकुलो पारिएपछि धेरैले मास्क लगाउन छाडिसकेका छन् । सर्लाहीमा जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले साउन ३१ गतेसम्मका लागि विभिन्न नियमसहित निषेधाज्ञा लागू गरेपनि त्यसको पालना हुन सकेको छैन् । बिना स्वास्थ्य सावधानी खुलेयाम रुपमा हाटबजार लागिरहेका छन् भने भेला, सभा सम्मेलनहरु आयोजना भइरहेका छन् ।