काठमाडौं,साउन २३— कोरोना भाइरसविरुद्धको दोस्रो डोज खोप लगाउन बाँकी १३ लाख ३८ हजार बढी जेष्ठ नागरिकहरुले साउन २५ गतेदेखि कोभिशिल्डको दोस्रो डोज लगाउन पाउदै छन् ।
खोप महाशाखाका अनुसार पहिलो चरणमा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई उक्त खोप दिइने छ । अहिले सञ्चालन हुन लागेको खोप अभियान प्रदेश १ र २ मा भने केही दिन ढिलो हुने जनाइएको छ ।
गत वर्षको फागुन तेस्रो साता ६५ वर्षमाथिका १३ लाख ३८ हजार भन्दा बढी जेष्ठ नागरिकले भारतको सेरम इन्स्टिच्यूटले विकास गरेको कोभिशिल्ड खोपको पहिलो डोज लगाएका थिए । पहिलो डोज लगाएको १२ सातापछि दोस्रो डोज लगाउनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएपनि खरिद सम्झौता अनुसार भारतले दश लाख डोज खोप नदिएपछि दोस्रो डोज लगाउन पाएका थिएनन् । खोप महाशाखाका अनुसार साउन २५ गतेदेखि कोभिशिल्डको दोस्रो डोजको लगाउन बाकी रहेका ६५ वर्ष माथिका १३ लाख ३८ हजार बढी जेष्ठ नागरिकहरुले खोप लगाउन पाउने छन् ।