काठमाडौं, साउन २३—कोरोना महाव्याधि दिनप्रति दिन तीब्र फैलिदै गएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना संक्रमण तीब्र रुपमा फैलिँदै गएको अवस्थामा सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेका हुन । स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले सामजीक सञ्जाल मार्फत ट्वीट गर्दै कोभिड–१९ संक्रमण फैलदै गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवन रक्षाप्रति हामी अत्यन्त संवेदनशील छौं भनेका छन् । मन्त्री श्रेष्ठको ट्वीटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको उल्लेख छ ।
कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा ३१ साउनदेखि शुरु गर्ने बोर्डले तयारी भएको थियो । बोर्डले एउटा कक्षामा २५ जना मात्रै विद्यार्थी राखी भौतिक दूरी कायम गरी परीक्षा लिने तयारी भएको थियो । परीक्षा सञ्चालन भए यस वर्ष कक्षा १२ को परीक्षामा ३ लाख ७४ हजार विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ ।