लालबन्दी –६, स्थित राधाकृष्ण खेलमैदान नजिक पल्टिएको पिकअप भ्यान ।

सर्लाही, साउन २२—सर्लाहीको लालबन्दीमा शुक्रवार अपरान्ह पिकअप भ्यान दुर्घटना हुदाँ फुटबल खेल्न हिडेका युवकको ज्यान गएको छ । अन्य दर्जन बढी घाइते भएका छन् ।
शुक्रवार अपरान्ह ४ बजेतिर दुर्घटना हुदाँ लालबन्दी नगरपालिका–९, बस्तीपुरका १७ वर्षीय प्रल्हाद दाहालको मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले (चियोचर्चो खबरलाई ) जानकारी दिए ।
प्रहरी निरीक्षक थापाका अनुसार दाहालको उपचारका क्रममा नमूना अस्पताल हरिवनमा मृत्यु भएको हो ।
दुर्घटनामा परि अन्य ९ जना गम्भीर घाइते भएका छन् । उनहरुलाई उपचारका लागि वीरगन्ज र भरतपुर रेफर गरिएको प्रहरी निरीक्षक थापाको भनाई छ ।
सामान्य घाइते भएका १० भन्दा बढीकाे लालबन्दीकै गढिमाई र मोडेल अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र कतिपय उपचार पछि घर फर्किएका प्रहरी निरीक्षक थापाले बताए । दुर्घटनापछि पिकअपका चालक फरार रहेका छन् । फरार चालकको खेजि भईरहेको प्रहरीले जनाएको छ ।
फुटबल खेलाडी बोकेर लालबन्दीबाट परवानिपुर हिडेको प्रदेश–२–०३००१ च ०८४६ नम्वरको पिकअप भ्यान लालबन्दी –६, स्थित राधाकृष्ण खेलमैदान नजिक पल्टिएको थियो । दुर्घटना लगत्तै प्रहरी र स्थानीयले घाइतेहरुको उद्धार गरेका थिए । लालबन्दीमा बिहिवार राती भएकाे दुर्घटनामा परी एक पहिचान नखुलेका युवाकाे पनि ज्यान गएकाे थियाे ।