लालबन्दी,साउन १८—प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले सञ्चार क्षेत्रको विकासका लागि आफुले पहल गर्ने बताएका छन् । सञ्चार क्षेत्रकाे राजनीतिक र सामाजिक क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका रहने भएकाले पत्रकारलाई राज्यको तर्फबाट सेवा सुविधा तथा अधिकारका दिलाउनका लागि सदैव लागि पर्ने पनि मन्त्री साहले बताए ।
मन्त्री साह र राज्यमन्त्री रुवी कुमारी कर्णको सम्मानम सोमवार सर्लाहीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री साहले यस्तो बताएका हुन । मन्त्री साह र राज्यमन्त्री कर्णलाई जिल्लाको मलंगवा र लालबन्दीमा आयोजित कार्यक्रममा नेकपा माओवादी (केन्द्र)ले स्वागत तथा सम्मान गरेकाे हाे ।
मन्त्री साहको स्वागतमा जिल्ला सदरमुकाम मलंगवा स्थित जानकी पार्टी प्यालेसमा नेकपा माओवादी केन्द्र सर्लाहीले कार्यक्रम आयोजना गरेको थियो । जिल्ला समिति सदस्य दिनेश यादवको अध्यक्षतामा भएको कार्यक्रममा आन्तरिक मामिला तथा सञ्चारमन्त्री साहको प्रमुख आतिथ्यता रहेको नेता रविराज खानले जानकारी दिए ।
कार्यक्रममा मन्त्री साह र राज्यमन्त्री कर्णलाई फुलमाला पहिर्याएर स्वागत तथा सम्मान गरिएको थियो । त्यस्तै, बिहान लालबन्दीमा पनि नेकपा माओवादी नगर कमिटिको आयोजनामा स्वागत तथा सम्मान कार्यक्रम गरिएको पार्टी नेता लेखाराम जर्गा मगरले जानकारी दिए ।नेता जर्गाका अनुसार लालबन्दी–७, स्थित अम्ब्रेला फुड ल्याण्डमा कार्यक्रम भएको हो । पार्टीका नगर संयोजक ज्ञान बहादुर थापाको अध्यक्षतामा कार्यक्रम भएको हो ।
स्वागत तथा सम्मान कार्यक्रममा पार्टीका केन्द्रीय सदश्य अच्यूतम काफ्ले, प्रदेश कमिटि सदस्य लुमडी धिमाल (लोचन) रामप्रित यादव, विश्वदिप यादव, महिला केन्द्रीय सदस्य विनिता दाहाल, चक्रघट्टा गाँउपालिकाका अध्यक्ष विक्रम यादवलगायतले सम्बोधन गरेका थिए ।जसपा विवाद पछि बनेको नयाँ समिकरणमा नेकपा माओवादी केन्द्रबाट भरत साह आन्तरिक मामिला तथा सञ्चार मन्त्री र रुवी कुमारी कर्ण राज्य मन्त्रीमा नियुक्त भएका हुन ।