साहित्य प्रतिष्ठान प्रदेश २ का अध्यक्ष घिमिरे ।

लालबन्दी,साउन १६— विश्व नेपाली साहित्य प्रतिष्ठान प्रदेश २ को अध्यक्षमा लालबन्दीका स्रष्टा सुमन घिमिरे चयन भएका छन् । शुक्रवार आयोजित प्रथम भर्चुअल भेलाले सर्लाहीका स्रष्टा सुमन घिमिरे(अग्रीम)को अध्यक्षतामा ११ सदस्यीय विश्व नेपाली साहित्य प्रतिष्ठान प्रदेश २ गठन गरेको हो ।
प्रतिष्ठान समितिको उपाध्यक्ष चिरन्जिवी सापकोटा पर्सा, सचिव कुमार दाहाल सर्लाही, सह सचिव रेणु गुप्ता रौतहट र कोषाध्यक्षमा अनिताराज खतिवडा बारा रहनुभएको छ । समितिका सदस्यहरुमा लिलाराज दाहाल सर्लाही, सपना मिश्रा महोत्तरी, निर्मल बराल सर्लाही, राकेश कुमार झा धनुषा, विप्लव कार्की सर्लाही, समिक्षा सुवेदी बारा चयन भएका छन् ।त्यस्तै प्रतिष्ठाका सल्लाहकारमा वरिष्ठ साहित्यकार मणिराज सिंह रहेका छ भने प्रदेश २ संयोजकमा केन्द्रीय सदस्य दीक्षा सुवेदी रहेकी छीन् ।
कार्यक्रममा बोल्दै विश्व नेपाली साहित्य प्रतिष्ठानका केन्द्रिय अध्यक्ष जनार्दन अधिकारी (धड्कन) ले संस्था हाल दर्ता प्रक्रिया र शाखा विस्तारमा केन्द्रित रहेकाले तत्कालै नेपाली साहित्यको विकासको लागि केही राम्रा कार्यक्रम ल्याउने बताए । अधिकारीले नेपाली माटोमा जन्मिएका विधाको विकासको लागि संस्थाले कार्य बताए ।

नेपाली भाषा साहित्यको विकासका लागि नेपालबाट शुरूवात भएको यो अन्तर्राष्ट्रिय अभियानले नेपाली भाषा साहित्यको विकासका लागि महत्त्वपूर्ण भुमिका खेल्नेछ, अधिकारीले भने । संस्थामा डा नारायण गैरे, डा. देवी नेपाल, .डा बम बहादुर थापा (जिताली) र चट्याङ मास्टर जस्ता सल्लाहकारहरु रहेकोमा गर्व गर्दै अग्रज स्रष्टा र युवा जुझारु स्रष्टाको सहकार्यले वास्तव राम्रो कार्य गर्न सकिने बताए ।
कार्यक्रममा वरिष्ठ साहित्यकार मणिराज सिंहले प्रतिष्ठानमा सल्लाहकारको रूपमा जोडिन पाउँदा खुसी लागेको र आफुले संस्थालाई सक्दो योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले संस्था गठन हुनु मात्रै ठुलो कुरा नभएको र यसलाई लामो समयसम्म नेपाली साहित्यको विकासमा लगाउनु र टिकाउनु महत्त्वपूर्ण हुने तर्क गरे ।
प्रतिष्ठानका विदेश विभाग प्रमुख खगेन्द्र बस्यालले प्रदेश २ कार्यसमितिलाई बधाई दिंदै आफ्नो जागीरे जीवनले गर्दा प्रदेश २ सँग भावनात्मक सम्बन्ध रहेको बताए । उनले विश्वका विभिन्न देशहरुमा प्रतिनिधि चयन कार्य पूरा भैसकेको र झण्डै ३५÷४० देशमा प्रतिनिधि चयन गरेर भेला राख्ने योजना रहेको बताए ।
प्रदेश १ संयोजक निरु गौतमले विनेसाप्र नेपाली साहित्यको महाअभियान रहेको र नेपाली भाषा साहित्यको विकासका लागि यो एउटा ऐतिहासिक कदम रहेको बताए । प्रदेश ६ संयोजक कमला महतले जिम्मेवारी पाएको ४ दिनमै कर्णाली प्रदेश भेलाको अन्तिम तयारीमा पुगेको बताए ।
नवगठित समितिका अध्यक्ष सुमन घिमिरे(अग्रीम) ले आफुलाई प्रदेशको अध्यक्ष जस्तो गरिमामय पदमा चयन गरिएकोमा कृतज्ञता ज्ञापन गर्दै नेपाली साहित्यको विकासको लागि आफुले कार्य गरिरहेको र प्रतिष्ठानमा रहेर इमान्दारीपुर्वक कार्य गर्ने बताए । घिमिरेले प्रदेशका सबै जिल्लाका स्रष्टाहरुको सुची तयार गरि छिट्टै जिल्ला भेला आयोजना गर्ने बताए ।
कार्यक्रमका अध्यक्ष एवम् प्रदेश २ संयोजक दीक्षा सुबेदीले झन्डै १ वर्षको तयारी पछि गठन भएको विश्व नेपाली साहित्य प्रतिष्ठानको केन्द्रीय सदस्य एवम् प्रदेश संयोजकको भुमिका प्रदान गरकोमा कृतज्ञता ज्ञापन गरीन् । नेपाली साहित्यको क्षेत्रमा भएका विभिन्न गतिविधिलाई एकै स्थानबाट गर्न लागिएको यो अभियानबाट आफू धेरै आशावादी रहेको र सक्दो योगदान गर्न तम्तयार रहेको उनको भनाई थियो ।

कार्यक्रममा विनेसाप्रका केन्द्रिय उपाध्यक्ष पुष्कर राज रेग्मी, सचिव मनिष कुमार शर्मा समित, कोषाध्यक्ष सुधा बास्कोटा ढकाल, सहसचिव सविता केसी, सन्देश विभाग संयोजक सरु ज्ञवाली, साहित्यकार सोमनाथ लुइँटेल रवी, सन्जय मिश्र लगायत उल्लेख्य स्रष्टाहरुको सहभागिता रहेको थियोे । साँझ ८ बजेदेखी संचालित कार्यक्रम रातिको ११ बजे सम्पन्न भएको थियो । कार्यक्रममा स्रष्टाहरुले आ—आफ्ना रचनाहरु वाचन गरेकाथिए ।