विरोध प्रदर्शन पछि कोणसभामा सहभागि युवा ।

लालबन्दी,साउन १५—सर्लाहीको लालबन्दीमा वडाध्यक्षको अगुवाईमा स्थानीय युवाले पटकपटक भईरहेको विद्युत कटौतीको बिरोधमा प्रदर्शन गरेका छन् । जिल्लामा भईरहेको अनियमित विद्युत् कटौती र कम भोल्टेजको समस्याले दिक्क भएका स्थानीयले लालबन्दी ६ का वडाध्यक्ष युवा नेता उज्जवल कार्कीको अगुवाईमा प्रदर्शन गरेका हुन ।
प्रदर्शनमा रहेका युवाहरुले अनियमित विद्युत् कटौतीको विरोधमा पूर्व–पश्चिम राजमार्ग अन्र्तगत लालबन्दी सडक खण्डमा विद्युत् प्राधिकरणको विरोधमा नाराबाजी गर्दै कोणसभा समेत गरेका थिए ।
सर्लाहीमा लामो समयदेखि विजुली आउने जाने र आएपनि कम भोल्टेज आउने समस्या देखिएको छ । विद्युत्मा आएको समस्याका कारण विद्युतीय सामग्री बिग्रिएर हैरान भएपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको लालबन्दी–६ का वडाध्यक्ष समेत रहेका युवा उज्जवल कार्कीले बताए । युवाहरुले विद्युत प्राधिकरण लालबन्दी वितरण केन्द्रमा ज्ञापनपत्र बुझाउनदै समस्या समाधानमा ध्यान दिन आग्रह गरेका छन् ।
चासो नदिए आन्दोलनमा जान बाध्य हुने स्थानियले चेतावनी दिएका छन् । आन्दोलित युवाले विद्युत् कटौतीका कारण व्यवसाय तथा विद्यार्थीहरुको अनलाईन कक्षा तथा गर्मीको समयमा जिल्लावासीलाई निकै नै सास्ती भईरहेको भन्दै यसलाई सामान्य ढंगले नलिन आग्रह गरेका छन् ।
यता, नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रका प्रमुख सुधिर कुमार रायले विद्युत् आपूर्ति समस्या समाधान गर्न अझै दुई साता जति लाग्ने बताउनुभएको छ । ढल्केवर ग्रीड सवस्टेशनको ३० एमविए पावर ट्रान्सफर्मर बिग्रेको कारण सर्लाहीमा विद्युत आपूर्तिमा समस्या आएको उहाँले बताउनुभएको छ ।
ढल्केवर ग्रिड शवस्टेशनमा समस्या आएपछि हाल रौतहटको चन्द्रनिगाहपुर ग्रिड सवस्टेशनबाट तानिएको ३३ केभि प्रशारण लाईनबाट जिल्लामा विद्युत आपूर्ति हुँदै आएको छ । चपुरबाट ल्याईएको प्रशारण लाईनको कन्डक्टर क्षमता भन्दा बढी करेन्ट प्रवाह हुदाँ ओभरलोड भएका कारण विद्युत् आपूर्तिमा समस्या देखिएको वितरण केन्द्र प्रमुख रायले बताए। विद्युत कटौतीविरुद्ध बिहिबार पनि हरिवनका युवाहरुले विरोध प्रदर्शन गरेका थिए ।