आरोपीद्वारा कुटपिट गरि घाईते बनाइएका कृष्ण कुमार साह ।

मनोज यादव/मलंगवा ,साउन १४—सर्लाहीमा कुटपिट तथा ज्यान मार्ने उद्योगका आरोपी प्रहरीको हिरासतबाटै फरार भएका छन् । फरार हुनेमा जिल्लाको चक्रघट्टा गाउँपालिका वडा न–३ सुन्दरपुरका २५ वर्षीय कमलेश यादव रहेका छन् ।यादवलाई बुधबार स्थानीय दुईजना युवतीलाई भारत तर्फ भगाएर लाँदै गरेको अवस्थामा युवतीका अविभावकले समातेर प्रहरी चौकी सुन्दरपुरको जिम्मा लगाएका थिए ।आरोपी यादव सोही दिन राती करिब ८ बजेको समयमा प्रहरी हिरासतबाट फरार भएका हुन् ।
हिरासतबाट भागेका कमलेश सहित सुन्दरपुरका मुन्ना भन्ने चन्दन यादव,फेकु भन्ने रंजित यादव,संतोष यादव र रौशन यादव उपर सुन्दरपुरकै कुन प्रसाद साहको छोरा कृष्ण कुमार साहलाई ज्यान मार्ने मनसायले निर्घात कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा मुद्दा दर्ता गरिएका आरोपी हुन ।
पिडित कृष्ण कुमार साहका दाइ जयनारायण साहका अनुसार २०७७ साल जेष्ठ २६ गते राती करिब १२ बजेको समयमा स्थानीय सुशील साहको घरबाट बिहेको भोज खाएर फर्किरहेको अवस्थामा आरोपित युवकहरु लगायत ८–१० जनाको समूहले पिडित कृष्णलाई बाटोबाटै अपहरण गरि लखनदेही खोला नजिक लगेर मरन्नसान्न हुने गरि निर्घात कुटपिट गरि सोही खोलामा फालेर भागेका थिए ।
स्थानीयबासीले कुटपिटबाट शरिरभरी गहिरो घाउ लागेको र खुट्टा भाँच्चिएको अवस्थामा पिडितलाई खोलाबाट उद्धार गरि तत्कालै सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पतालमा पुर्याएको पिडितका दाइ जयनारायणले बताए ।
मुद्दा दर्ता गराएको १२ महिना भन्दाबढी भइसकेको छ ।
प्रहरीले हालसम्म एकजना आरोपीलाई पनि पक्राउ गर्न सकेको छैन ।बल्लबल्ल आरोपीहरु मध्येको एकजना पक्राउ परेपनि प्रहरीकै हिरासतबाट फरार भएका छन् । पक्राउ परेका कमलेशलाई भगाउनमा प्रहरी चौकी सुन्दपुरका इन्चार्ज एवं सई नन्दलाल यादवको हात रहेको पिडितका दाइ जयनारायणको आरोप छ ।
बिहिबार दिउँसो सुन्दरपुरबाट मलंगवा स्थित जिल्ला प्रहरी कार्यालयमा आएका पिडित पक्षले डिएसपी माधव प्रसाद बुढाथोकीलाई भेटेर आरोपीहरु अहिले पनि काठमाडौमा बसेर त्यहीँकै पसलमा काम गरिरहेकाले उनीहरूलाई जतिसक्दो चाँडो पक्राउ गर्न र पक्राउ परिसकेका आरोपीलाई भगाउन मद्दत गर्ने सईलाई कार्यवाही गर्न आग्रह गरेका छन् ।
डिएसपी बुढाथोकीले आफुहरुले ती आरोपीहरुलाई चाँडोभन्दा चाँडो पक्राउ गर्ने र पक्राउ परेका आरोपीलाई हिरासतबाट भगाउन मद्दत गरेको पाईए सई उपर विभागीय कार्यवाही गर्ने आश्वासन दिएका पिडितका दाजु जयनारायणले बताए ।