हरिवन,साउन ११—सर्लाहीमा हरिवनमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । अर्का एक पुरुष घाईते भएका छन् । हरिवन नगरपालिका–४, गणेश चोककी ६२ वर्षिया तेतरी खातुनलाई आईतबार राति २ बजेतिर जंगली हात्तीले आक्रमण गरेको थियो । खातुन छिमेकमा रहेको विवाह घरमा जादैँ गर्दा एक्कासी देखा परेको जंगली हात्तीले आक्रमण गर्दा पेट र खुट्टामा चोट लागि घाईते भएकी थिईन । घाईते खातुनलाई हरिवनमा रहेको नमुना अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि नेशनल मेडिकल कलेज, वीरगंज लगिएकोमा उनको उपचारकै क्रममा सोमबार बिहान साढे ६ बजेतिर मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।
सर्लाही प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक माधव प्रसाद बुढाथोकीका अनुसार सर्लाहीको बागमती नगरपालिका–४ स्थित रेल्वे लिक नजिकै अर्का एक पुरुष पनि हात्तीको आक्रमणबाट घाईते भएका छन् ।
मानसिक सन्तुलन ठिक नभएका अन्दाजी ३५ वषिर्य पुरुषको अझै पहिचान नखुलेको छैन ।
उनलाई पनि जंगली हात्तीले आक्रमण गरेको,उनको कान र खुट्टामा चोट लागेको छ । घाईते पुरुषको नमुना अस्पताल, हरिवनमा सामान्य उपचार पछि थप उपचारका लागि नारायणी उप–क्षेत्रिय अस्पताल,विरगञ्ज पठाईएको र उनको अवस्था सामान्य रहेको डिएसपी बुढाथोकीले जानकारी दिए । यस अघि असार ९ गते पनि जंगली हात्तीकै आक्रमणबाट श्रीनगरका एक पुरुषको ज्यान गएको थियो ।
बिगत ३ महिना देखी उक्त हात्ती जिल्लाको उत्तरी क्षेत्रमा देखिएको भए पनि हात्तीलाई उसको बासस्थान फर्काउन सरोकारवाला निकायले चासो नदिएको स्थानीयको आरोप छ । पहिला भौतिक क्षति मात्र गरेको भए पनि अहिले भने हात्तीले मान्छेको ज्यानै लिन थालेपछि सर्लाहीका स्थानीय आतंकित भएका छन् ।