मनोज यादव/मलंगवा,साउन ६—सरकारले सबैका लागि निःशुल्क शिक्षा भने पनि सर्लाहीको एक सामुदायिक विद्यालयले विभिन्न बहानामा विद्यार्थीबाट चर्को शुल्क लिने गरेको पाइएको छ । सर्लाही सदरमुकाम मलंगवा नगरपालिका वडा न–५, भाँडसर स्थित श्री रामगुलाम जनता माध्यमिक विद्यालयले भर्ना शुल्कको नाउँमा चर्को शुल्क लिने गरेको अभिभावक तथा विद्यार्थीले गुनासो गरेका छन् ।
विद्यालयले विद्यार्थीबाट गैरकानुनी रूपमा भर्ना शुल्क असुल्ने गरेको तथ्य सार्वजनीक भएको हो ।
विद्यार्थीसँग भर्ना शुल्क भनेर लिएको पैसा विकास शुल्कको शिर्षकमा उल्लेख गरेर दिने गरेको सोही विद्यालयमा भर्खरै कक्षा ८ उतिर्ण गरि कक्षा ९ मा पुगेका छात्रा पुजा कुमारी महतोका अविभावक रवीन्द्र महतोले बताए ।
सरकारले सबैका लागि निशुल्क शिक्षा भनेर लागू गरेको भएपनि भर्ना शुल्क किन लिएको भनि विद्यालयका लेखापाल (किरानी) राम विश्वास रायसँग प्रश्न गर्दा आफुले प्रधानाध्यापक जुगेश्वर राउतको निर्देशन तथा आदेशमा भर्ना शुल्क लिएको भनेका महतोले बताए ।पहिला त शुल्क बुझाएको पैसाको बिल दिन मिल्दैन भनी पन्छिन खोजेपनि पछि जिद्दी गरेर माग्दा भर्ना बापत लिएको शुल्क विकास शुल्कको शिर्षकमा उल्लेख गरेर दिने गरेको महतोको भनाई छ ।
कक्षा १ देखि १२ सम्म सरकारले निःशुल्क शिक्षा भने पनि जिल्लाका अधिकांश सामुदायिक विद्यालयले भर्ना शुल्क, परीक्षा शुल्क, गयल शुल्क, खेलकुद शुल्क, विकास शुल्क लगायतका शीर्षकमा विद्यार्थीहरु सँग जबर्जस्ती रकम असुल्ने गरेका छन् ।
अहिले विद्यालय भर्ना अभियान चलिरहेको र सोही अभियानको क्रममा आफ्नो बच्चालाई भर्ना गराउनका लागि लिएर जाँदा लेखापाल रायले भर्ना गराए बापत ५०० रुपैयाँ विद्यालयलाई बुझाउनु पर्ने नबुझाए भर्ना गर्न नमिल्ने भनेका रामगुलाम जनता मावि भाँडसरमा अध्यनरत एक विद्यार्थीका अविभावक मलंगवा नगरपालिका वडा न–६ खुटौना निवासी ललन राय यादवले गुनासो गरेका छन् । भर्ना गराए बापत एक रुपैयाँ तिर्नु पर्दैन सरकारले १ देखि १२ कक्षासम्मको अध्ययनलाई निशुल्क गरेको छ, बच्चाको नाम लेखिदिनु पर्यो भनि आग्रह गर्दा समेत नमानेपछि बाध्य भएर रकम बुझाएको र सो बापत रसिद माग्दा भर्ना शुल्क भनेर लिएको ५०० सय रुपैयाँ विकास शुल्क शिर्षक उल्लेख गरेर दिएको यादवले बताए । उनीजस्तै खुटौनाका अन्य अभिभावकले पनि बालबालिका भर्ना गर्दा रकम तिर्नुपरेको उनले बताए।
विद्यालयका प्रअ राउतलाई गैरकानुनी रुपमा विद्यार्थीहरु सँग रकम असुल नगरिदिन भनि पटकपटक आग्रह गर्दा समेत नमानेपछि बाध्य भएर पिडित अविभावक तथा विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा रकमको असुली र यस्ता गतिबीधिमा संलग्नलाई कार्यवाहीको माग राखेर निवेदन गरेका छन् ।
निवेदनको आधारमा कार्यालयले जिल्ला शिक्षा समन्वय इकाई कार्यालयमा पत्र लेखेर पठाएको र इकाई प्रमुख राम आधार कुशवाहाले पनि राम गुलाम माविका प्रअको नाउँमा स्पष्टीकरण दिन भनि पत्र काटेर पठाएको अविभावक महतोले बताए ।
जिल्ला शिक्षा समन्वय इकाई कार्यालयले काटेको पत्र आफैले लिएर विधालयमा जाँदा प्र.अ र लेखापालले पत्र बुझ्न अस्विकार गरेपछि पुनः दोस्रो र तेस्रो पटक पत्र लिएर जाँदा पनि बुझ्न नमानेपछि बाध्य भएर असाढ २२ गते हुलाक मार्फत पत्र पठाएको तर उनीहरूले हुलाकबाट गएको पत्र पनि नबुझी पुन ः हुलाकमै पठाएको उनले बताए ।
यसरी पटकपटक गएको पत्र नबुझ्नुले पनि उनीहरूले विद्यालयमा व्यापक रुपमा भ्रष्टाचार गरेको स्पष्ट हुन्छ ,‘भएको देखिन्छ महतोले भने’, ।
यस अघिपनि उक्त विद्यालयले शिक्षा नियमावली विपरित नामांकन ,परीक्षा,रजिस्ट्रेसन,सर्टिफिकेट, विकास लगायतका शिर्षकहरुमा गैरकानुनी रुपले विद्यार्थीहरु सँग रकम असुलेको अभिभावकको भनाई छ । शुल्क नबुझाएको खण्डमा डर र परिक्षामा फेल गरिदिने खालका धम्की दिएर विद्यार्थीहरु सँग पैसा असुल्दै आएको अविभावकहरुले गुनासो छ् ।
प्रअ,लेखापाल लगायत अन्य केही विद्यालयसँग सम्बन्धित रहेका तथा नरहेका स्थानीय व्यक्तिहरुको आपसी मिलेमतोमा विद्यालयले विभिन्न बहानामा विद्यार्थीहरुबाट वार्षिक ३ देखि ४ लाख रुपैयाँ असुल्दै आएको छ । जबकी निजी श्रोत बाहेक विभिन्न शिर्षक गरी विद्यालय संचालनका लागि सरकारबाट करिब ५ देखि ६ लाख रुपैयाँ आईरहेको छ ।
सामुदायिक विद्यालयमा गरिब तथा विपन्न घरका बालबालिकाहरु पढ्ने गरेकाले मजदुरी गरेर भएपनि आआफ्नो छोराछोरीलाई विद्यालय भर्ना गराएर पढाउन चाहने अविभावकहरु सँग मनपरी रुपमा रकम लिएर उनीहरू माथि ठुलो अन्याय गरेकोले यस्तो कर्तुत गर्नेहरु उपर कडा कार्यवाही हुनुपर्ने आफुहरुको माग रहेको विद्यालय उपर कार्यवाहीको माग राखेर जिल्ला प्रशासन तथा शिक्षा समन्वय इकाई कार्यालयमा उजुरी दिएका भाँडसरकै अविभावक रवीन्द्र महतोले बताए ।
शिक्षा इकाइ प्रमुख राम आधार कुशवाहाले कुनैपनि सरकारी विद्यालयमा नामांकन शुल्क नलाग्ने नियम रहेकोले रामगुलाम मावि भाँडसरले नामांकन शुल्क लिएको पिडित विद्यार्थीका अविभावकहरुले पेश गरेको निवेदनमा देखिएकोले यस्तो कार्य गर्ने उपर कार्यवाही हुने बताए । आफुले प्रअ सँग स्पष्टीकरण माग्दै इकाई कार्यालयबाट विद्यालयको नाउँमा पत्र पठाइसकेको इकाई प्रमुखले बताएका पिडित अविभावक महतोले बताए ।
मलंगवा नपा वडा न–५ भाँडसर स्थित राम गुलाम ज.मा.वि मा अध्ययनरत विद्यार्थी , भर्ना हुन गएका नयाँ विद्यार्थी तथा तिनका अविभावकहरु मलंगवा स्थित रिपोर्टस क्लब नेपाल सर्लाही शाखाको कार्यालयमा आएर यस्तो गुनासो गरेका हुन । गुनासो सुनाउँदै पिडितहरु उक्त विद्यालयमा भईरहेको गैरकानुनी काम तथा अनियमितताको विषयमा आवाज उठाइदिन सञ्चारकर्मीसँग आग्रहसमेत गरेका छन् ।