मन्तव्य राख्दै, पूर्व मन्त्री श्रेष्ठ ।

कृष्ण थपलिया

लालबन्दी,साउन,२—नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व मन्त्री शम्भुलाल श्रेष्ठले वैदिक सनातन हिन्दु संस्कृति समयानुकूल परिस्कृत हुनुपर्ने बताएका छन् ।
पूर्व मन्त्री श्रेष्ठले धर्मका कारण तिरस्कृत कतिपय मान्छेहरु धर्म परिवर्तन गर्न अग्रसर रहेकाले यसको अन्त्यका लागि समाजमा विद्यमान छुवाछुत,उच्च नीच भावनाको व्यबहारबाटै अन्त्यहुनुपर्नेमा जोड दिए ।
श्रीमद्भागवत प्रचार प्रसार संघ डुमडुमे देवालय परिसरद्वारा सञ्चालित राधाकृष्ण रामजानकी वैदिक संस्कृत गुरुकुलम्काे कार्यक्रम घोषणा समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका श्रेष्ठले सो कुरा बताएका हुन् । पूर्व मन्त्री श्रेष्ठले आफुले बिगतमा पनि यस क्षेत्रको बिकाशमा यथासक्य सहयोग गरेको बताउदै, गुरुकुलम्काे स्थापना र बिकाशमा आफ्नो सहयोग रहने बताउदै, डिपिआर तयार गरेर अघि बढ्न आग्रह गरे ।
कार्यक्रम घोषणा समारोहका सभापति पण्डित नारणशण काफ्ले (शास्त्री) ले वैदिक सनातन परम्परादेखि चल्दै आएको नैतिक मूल्य, मान्यता र संस्कारसहितको गुरुकुलीय परम्परामा आधारित संस्कृत शिक्षाको आवश्यकतालाई महसुस गरी असल, सभ्य र चरित्रवान् नागरिक तयार गरी सभ्य समाज निर्माण गर्ने महान उद्देश्ले गुरुकलम् शिक्षा प्रणाली लालबन्दी नगरपालिका वडा नं. ५ रन्जितपुरबाट प्रारम्भ गर्नपाउदा खुसी लागेको बताए । हिन्दु धर्मले रिस, राग, द्वेष, इष्र्या, अहङ्कार, घमण्ड नसिकाएकाले निस्वार्थ ढंगले काम गर्ने र एउटा नमुना गुरुकुलम्काे रुपमा बिकाश गर्ने आफुहरुको लक्ष्य रहेको बताए ।
गुरुकुलम् व्यवस्थापन समिति अध्यक्ष वासुदेव अधिकारीले प्रारम्भिक घोषणा—पत्र वाचन गर्दै, भावी कार्य योजना बारे प्रकाश पारे । अध्यक्ष अधिकारीले रामजानकी मन्दिर परिसरभित्र १० वर्षे गुरुयोजना तयार गरी अत्याधुनिक सुविधा सम्पन्न गुरुकुल विद्यालय भवन निर्माण गर्ने, यस क्षेत्रलाई धार्मिक एवम् पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने,पूर्वजहरूले परिकल्पना गरेको आफ्नै शैली र मौलिकता झल्कने मठ, मन्दिर, यज्ञशाला आदि जस्ता भौतिक संरचहरूको निर्माण गर्ने, दीर्घकालीन रूपमा गुरुकूलम्लाइ‘बृहत् आध्यात्मिक एवम् वैदिक सनातन अध्ययन केन्द्र’का रूपमा विकास गर्ने लक्ष्य रहेको बताए । हरेक गतिबिधीहरु सरोकारवालाहरूसँग समन्वय गरी पारदर्शि ढंगले सञ्चालन गरिने अध्यक्ष अधिकारीले बताए । राधाकृष्ण रामजानकी वैदिक संस्कृत गुरुकलम् विद्यालयको सम्बन्धित निकायबाट स्वीकृति लिने प्रक्रिया तत्काल प्रारम्भ गर्ने र गुरुकुलम् विद्यालयको भौतिक पूर्वाधार तयार गर्ने कार्यको थालनी गर्ने अध्यक्ष अधिकारीले बताए ।


गुरु योजनाको विस्तृत कार्य योजना बनाउन उपलव्ध जग्गा कम हुने भएकाले शान्तिपार्क र रंजितपुर जाने बाटो उत्तरपूर्व चरण फाराम पश्चिम स्वास्थ्य चौकी दक्षिणको सार्वजनिक पर्ती जग्गामध्ये चौतारो दक्षिणको जमिन उपलव्ध गराइदिन नागरिक समाज, वन उपभोक्ता समिति र लालबन्दी ५ का वडाध्यक्षसंग माग गरिएको अध्यक्ष अधिकारीले बताए । कार्यक्रमका बक्ता एवम् लालबन्दी ७ का वडाध्यक्ष सुरेन्द्र कुमार न्यौपानेले जनज्योती बहुमुखी क्याम्पस,डुमडुमे देवालय परिसर र बृहत खानेपानी आयोजना निमार्ण सफल बनाएका अध्यक्ष अधिकारीको सकृयताले गुरुकुलम् र यस क्षेत्रको भबिश्य समुज्वल रहेकाले संका नगर्न आग्रह गरेका थिए । लालबन्दी ५ का स्थानी युवा खड्ग पोखरेलले वडाको बिकाशमा व्यापक भ्रष्टाचार हुनेगरेको,वडाध्यक्ष मोहनहरि भण्डारीले बिकाश बजेटमा १० प्रतिशत कमिसन लिने गरेको, जग्गा दलालिमा सक्रिए रहेको, पारदर्शि ढंगले अघि नबढेको, वडाको भवन बनाउदा आफुले जग्गा प्लटिङ गरेको ठाउँमा बनाएको आरोप लगाएका थिए । वडाध्यक्ष मोहनहरि भण्डारीले त्यसै आरोप नलगाउन आग्रह गर्दै आरोप पुष्टि गर्न चुनौती दिए । कतै भष्टाचार भएको ठहरिए आफु एक मिनेट पनि पदमा नरहने बताए । गुरुकुलको उद्घाटन २०७७ फागुन ४ गते वसन्त पञ्चमीका दिन लालबन्दीमा रहेको राधाकृष्ण धर्मशालाको हलमा भएको थियो । यसको तयारी पूरा भएपछि नेपाल महर्षि फाउन्डेसन फर वैदिक कल्चरबाट सञ्चालन खर्च मासिक ५५ हजार उपलब्ध हुनेछ । कार्यक्रम घोषणा समारोहमा अघि संस्थाका पदाधिकारी, शिक्षक र वटुक विद्यार्थीहरू र्यालीकासाथ डुमडुमे देवालय परिसरबाट लालबन्दी ५ रन्जितपुरमा रहेको रामजानकी मन्दिर परिसर पुगेका थिए । त्याहाँका स्थानीयले उनिहरुलाई ताली बजाएर स्वागत गरेका थिए । कार्यक्रम सञ्चालन जनज्योती बहुमुखी क्याम्पस व्यबस्थापन समितिका उपाध्यक्ष एवम् समाजसेवी माधव खरेलले गरेका थिए ।