लालबन्दी,साउन १ – सर्लाहीको लालबन्दी नगरपालिकाको छैठौँ नगर सभाले बिहिवार १ अर्ब ४ करोड ७९ लाख ५२ हजार ८ सय ८६ रुपैयाँ बराबरको बजेट पारित गरेको
छ ।
असार १० गते उद्घाटन गरिएको आर्थिक वर्ष २०७८/०७९ का लागि वार्षिक नीति, कार्यक्रम अघिल्लो आर्थिक वर्षको मसान्त भित्रै अर्थात असार अन्तिम दिन बिहिवार बजेट पारित गर्दै नगर सभा सम्पन्न भएको हो ।
यस अभि नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरुले नगरपालिकालाई ज्ञापन पत्र नै बुझाएर बजेट जनमुखी र समावेशी नभएको भन्दै सच्याउन आग्रह गरेका थिए । मेयर मान बहादुर खड्काले १७ वटै वडालाई समान हिसाबले अतिआवश्यक क्षेत्रलाई प्राथमिकता दिई बजेट विनियोजन गरिएको बताए ।
नगरपालिकाले स्वास्थ्य क्षेत्र सुधार शैक्षिक विकास, भौतिक पूर्वाधार, कृषि तथा पशुपंक्षी विकास, वातावरण संरक्षण एवं विपद् व्यवस्थापन, रोजगारी सिर्जना लगायतलाई बजेटमा प्राथमिकता दिइएको जनाएको छ । नगर सभा सदस्यहरुबाट पारित गरिएका वार्षिक नीति, कार्यक्रम र बजेट साउन १५ भित्र सबै सरोकारवालाहरुलाई उपस्थित गराई औपचारिक हिसाबले सार्वजनिक गरिने पालिकाले जनाएको छ। यो बजेट अहिलेका जनप्रतिनिधिहरुको कार्यकालको अन्तिम बजेट पनि हो ।