कृष्ण थपलिया
लालबन्दी,असार २८ – सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा फैसला सुनाउदै संसद पुनःस्थापना गर्न परमादेश जारी गरे पछि बिपक्षी गठबन्धनका नेता कार्यकर्ताहरुले सोमवार साँझ सर्लाहीका विभिन्न स्थानमा दीपावली गरेका छन् ।
अदालतले दोस्रो पटक संसद् पुनर्स्थापना गर्दै काँग्रेस सभापति शेरबहादुर देउवालाई २ दिनभित्र प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयको नाममा परमादेश जारी गरेको छ । साथै संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठन गर्दा सांसदहरूमाथि दलको ह्वीप नलाग्ने सोमबार बसेको संवैधानिक इजलासले फैसला सुनाएको छ ।
संसद पुनःस्थापना र पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न गरेको आदेशको स्वागत गर्दै नेपाली कांग्रेस लालबन्दी नगर समितिले दीप प्रज्वलन गरेको हो । त्यस्तै हरिवनमा पनि फैसलाको स्वागतमा दीप प्रज्वलन गरिएको कांग्रेस हरिवनका नगर सचिव निरोज कार्कीले बताए ।
बरहथवा, ईश्वरपुर, मलंगवा लगाएतका जिल्लाका धेरै स्थानमा र्याली कोणसभा तथा दीप प्रज्वलन गरिएको नेपाली कांग्रेस सर्लाहीका उपसभापति सुरेन्द्र प्रसाद सिंहले चियोचर्चो खबरलाई जानकारी दिए ।
त्यस्तै संसद पुनःस्थापना गर्न सर्वोच्च अदालतले परमादेश जारी गरे पछि त्यसको स्वागतमा बिपक्षी गठबन्धनका एक घटक नेकपा (माओवादी )केन्द्रसर्लाहीले पनि लालबन्दीमा स्वागत स्वरुप र्याली कोणसभा तथा दीप प्रज्वलन गरेको युवा नेता श्याम श्रेष्ठले जानकारी दिए ।
जेठ ७ मा मध्यराति प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेकी थिइन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्द मोहन भट्टराईले करिब एक महिनाको सुनुवाइपछि सोमबार(आज) फैसला सुनाएका हुन् ।