सर्जक : परशुराम घिमिरे (निदान)

लालबन्दी ,सर्लाही ।
२०७८/०३/२१

मैले दुख्नु ,पोल्नु ,
चिरा पर्नु र घायल हुनुबारे
कुनैदिन एकान्तमा
मुटुलाई नै सोधेँ
सबै मुटुहरुको बारेमा
उसले पनि न लुकाइकन
मुटुदेखि मुटुसम्मका
धड्कन बढ्नु र घट्नुका
संवेदना र आक्षेपका
यथार्थता खोल्यो –

“शरीरको एउटा सानो भाग ओगटेर
सीमित आयामहरूमा
अनिश्चित समयका लागि
पल्मोनरी धमनी र पल्मोनरी शिराले
ल्याएका र लगेका
अशुद्ध अनि शुद्ध तरल पदार्थ
जुन मैले सार फेर गरेर
नलिए नदिए
म कर्तव्यबाट च्यूत हुन्छु
मान्छेलाई स्वस्थ्य र स्फूर्त राख्न
अहोरात्र अविराम खटिरहेको छु
तर ,
मान्छे म भएको पनि बिर्सन्छ
मेरा कार्य त के सम्झन्थ्यो र !
उसले सोच्ने र गर्ने क्रियाकलाप
खाने र पिउने पदार्थ
मेरालागि कति फाइदा
कति वेफाइदा ?
अहँ सम्झना नै गर्दैन
उसलाई मेरो मोल
थाहा नभएको झैँ
तर पनि म
अनवरत धड्िकरहन्छु ।

कसैका सद्भावनाले खुसी र
कसैका आरोपले दुःखको
अनुभव मान्छेले गरिरहँदा
म विचलित हुने हो भने ,
मान्छे कहाँ र
कसरी हराउँदैछ ?
अत्तोपत्तो हुनेथिएन ।
म मान्छे झैँ आफ्ना
परिधि र नाकाबाट भाग्नहुन्न
उसैलाई जीवन दिइरहन पनि
यो मलाई मात्र थाहा छ ।
तर मान्छे वेहोश
आफ्नै कर्मले हुन्छ
मेरो के दोष ?
म त त्यसबखत पनि चलेकै हुन्छु ।

हुन सक्छ ,
उसैको दिमागी असन्तुष्टिले
मेरा गतिमा र प्रशारणमा
घटबढ देखिएलान्
तै पनि म निर्दोष
कपटरहित भएर
बगिरहेकैछु नदिझैँ निरन्तर ।
यदि म सामान्य भावनाले
परिवर्तन हुने भए ,
टुट्ने , दुख्ने र चिरा पर्ने भए
प्रत्यक्षरूपमा अशुद्ध रगतको सामना
कसरी गर्न सक्थेँ ?
म सानो छु
मान्छे ठूलो छ
र पनि म जतिको कर्तव्यबोधता
मान्छे गर्न चाहन्न
सक्छ केवल अरूको दोष देख्न
अनि भन्छ मेरो मुटु कमजोर छ । “

     धन्यवाद !